संस्मरणात्मक निबन्ध 
तिहार
तिहार नेपालिहरूको दोस्रो ठूलो चाड हो । यो पाँच दिनसम्म मनाइने उत्सव हो । यी पाँच दिनहरूमा काग, कुकुर, गाई, गोरु, लक्ष्मी र दाजुभाइको पुूजा गरिन्छ । पौराणिक कथा अनुसार ‘यमराज र उनकी बहिनी यमुनाको भेट नभएको लामो समय भएको थियो । आफ्नो दाजुलाई भेट्न नियास्रिएकी यमुनाले पहिले त काग कुकुर र गाईलाई खबर पठाइन् रे ! त्यसपछि आफैं फलफूल, मिठाई र उपहार लिएर दाइलाई भेट्न गइन् । विभिन्न मन्त्रहरूले दाजुको पूजा गरेपछि दाजुको दीर्घायुको कामना गरेर रमाएको र यमपञ्चकको पाँच दिन बिताएकी थिइन्’ भन्ने कुरा उल्लेख छ भने कतै यमराज आफैं बहिनीको निमन्त्रणालाई स्वीकार्दै यमुनाकै घरमा तिहारको पाँचै दिन आनन्दपूर्वक बसेका थिए भन्ने कथनहरू पनि रहेका छन् ।
जे होस् तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । हाम्रो समाजमा कागलाई मृत्यु वा खराब समाचार बोकिल्याउने सन्देशबाहक मानिन्छ । त्यसैले कागले राम्रो सन्देश लेराओस्, मानव जीवनका शोक र उदासिनता हटेर जाऊन् र खराब अवस्था टरेर जाऊन् भन्ने उद्देश्यले कागको पूजा गरिन्छ । तिहारको दोस्रो दिन मानिस वा आफ्नो मालिकप्रति अत्यन्तै वफादार प्राणी कुकुरको पूजा गर्ने गरिन्छ । भनिन्छ, कुकुरले भविष्यमा हुने मृत्यु, भय, दुर्घटना र प्राकृतिक प्रकोपको बारेमा पहिलेनै थाहा पाउँछ र सङ्केत दिन्छ । जसबाट मानिसलाई संभावित दुर्घटनाबाट जोगिन सजिलो हुन्छ । यसै दिन भगवान् कृष्णले नरकाशुर राक्षसको बध गरी उसले बन्धक बनाएर राखेको सोह्र हजार गोपिनीहरूलाई उद्धार गरेको दिन भएकोले नर्के चतुर्दशी नुहाउने र उत्सव मनाउने चलन पनि छ ।
तिहारको तेस्रो दिनलाई हामी गाई तिहार भन्दछौं । आमासरह दूध पिलाएर हाम्रो पालन पोषण गर्ने गौमाताको विषेश तरिकाले पूजा गरिन्छ । जनै पूर्णिामामा हातमा बाँधेको डोरो यसैदिन खोलेर गाईको पुच्छरमा बाँधिदिनुपर्ने भन्ने चलन पनि छ । यही दिन साँझ हिन्दुधर्मका अनुयायीहरूले आ– आफ्नो घर आगन सफा सुग्घर पारेर घर, आगन, चोटा, कोठा, दिवार सबैतिर झिलिमिली बत्ति बालेर उज्यालो बनाउँछन् । धनकी देवी लक्ष्मी माताको पूजा आराधना गर्दछन् । भैलो खेल्नेका लोकभाकाले गाउँ, टोल र शहर गुञ्जायमान हुन्छन् । किंवदन्ती अनुसार माता पार्वतीले आफ्ना स्वामी शिवसँग पासा खेलेर सबैकुरा जितेको भन्ने भनाइ छ । त्यसैकारण मानिसहरू यस दिन जुवा, तास, कौडा, पासा खेल्ने र मनोरञ्जन लिने गर्दछन् । तर यो चलन विकृतिको रूपमा फैलिएकोले हाल यसलाई प्रतिबन्ध लगाई नियन्त्रण गरिएको पाइन्छ ।
तिहारको चौथो दिन गोरु तिहार हो । यस दिन उपयोगी जनावर गोरुको पूजा गरिन्छ र गोरुलाई मीठो मीठो खान दिइन्छ । साँझपख युवाहरू देउसी खेलेर दान दक्षिणा माग्ने गर्दछन् । आजकाल यसरी सङ्कलन गरिएको नगद र जिन्सी सामान समाज विकास र सेवामा प्रयोग गर्ने गरेको पाइन्छ । नेवार समुदायमा यस दिनलाई नेपाल संवत्को रूपमा मनाउने र साँझमा म्हः पूजा गर्ने चलन रहेको छ । आत्मा तथा शरीर शुद्ध पार्न म्हः पूजा गर्ने गरिन्छ । यस दिन भगवान् कृष्णले आफ्ना कुल र वंशको रक्षा गर्न गोवद्धर्न पहाड उचालेर काँधमा बोकेको प्रशङ्ग जोडिएकाले हिन्दुहरू गोबरको पहाड बनाएर गोवर्द्धन पूजा गर्ने गर्दछन् ।
अन्त्यमा तिहारको पाँचौं दिनलाई भाइटीका भनिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भाइपूजा गर्दछन् । प्राचीनकालमा एउटी दिदीले आफ्नो भाइलाई पूजा गरेर सप्तरङ्गी टीका लगाइरहेकी थिइन रे ! त्यसै दिन उनको भाइको मृत्युको दिन भएकाले यमदूत उनको भाइलाई लिन आएछन् । यो कुरा थाहा पाएर ती महिलाले अत्यन्त विलाप गर्दै भाइटीका लगाइन्जेल पर्खन र यमदूतलाई पनि आफ्नो भाइसँगै राखेर टीका लगाइदिइछन् । भाइसरह सम्मान पाएकाले यमदूतले उनलाई ‘संसारको जुनसुकै वस्तु उपहारस्वरूप माग्न आग्रह गरेछन् ।’ त्यसै बखत उनले ‘आफ्नो भाइको लामो आयु उपहार दिनोस्’ भनेर मागिछ्न । त्यसपछि यमदूतले उनको भाइलाई दीर्घ आयु उपहार दिएर त्यहाँबाट फर्किएछन् । साँच्चै नै आज पनि दिदीबहिनीहरू भाइटीकामा आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा अर्चना गर्दछन् । दैलाको ठेलामा ओखर फुटाएर यमराजको दोहोलो पार्दछन् । मखमली र दुवोको नओइलिने माला गलामा पहिराइदिन्छन् । दाजुभाइ नहुने दिदिबहिनीहरू काठमाडौंको रानीपोखरी स्थित मन्दिरमा गएर टीकाटालो गर्ने गर्दछन् ।
यसरी तिहार दिदीबहिनी र दाजुभाइ बिचको आत्मीयता र एकताको प्रतीक हो । सत्यको विजयको प्रतीक हो । माया, ममता, करुणा, दया र आदरभावको पर्याय हो तिहार । चेतना, दीप र दिव्य ज्ञानको सञ्चार हो तिहार । प्राणी र प्राणको संरक्षक हो तिहार । सद्भावको सहयात्रा हो तिहार । सयपत्री झैँ फक्रिनुपर्छ । मखमली झैँ ताजा रहनुपर्छ र दुवोसरी फैलिनुपर्छ हाम्रो सम्बन्ध !
कविता 
थाप्न आऊ माथ
सयपत्री आगनिको डिलमा फुलेको छ
लहलह धानको बाला खेतमा झुलेको छ ।
छिटै आउनु दाजुभाइ परदेशबाट फर्की
सप्तरङ्गी इन्द्रेणी झैँ तिहार खुलेको छ ।
ठोक्दै मादल देउसी, भैलो खेल्न जानुपर्छ
तातो तेलमा सेलरोटी पोल्दै खानुपर्छ ।
कागतिहार कुकुरतिहार श्रीलक्ष्मीको पूजा
घर सजाउन झिलिमिली बत्ती लानुपर्छ ।
तिमीलाई स्वागत गर्न पिङ बाटेर हाल्छौँ
अन्धकार हटाउन दियोबत्ती बाल्छौँ ।
फूल टिपेर मखमली माला उन्छौँ हामी
भत्किएका भ्वाङ परेका बाटोघाटो टाल्छौँ ।
उता तिम्रो निधार खाली यता हाम्रो हात
यसपालि त नहोस् मिलोस दिदीभाइको साथ ।
दीर्घ जीवन लामो आयु आशीर्वाद छ मनमा
टीका लगाइदिन्छौं हामी थाप्न आऊ माथ ॥
कविता 
शूल जस्तो लाग्छ
दशैंअघि आन्दोलन त दशैंपछि झरी
चित्कार मात्रै सुन्नुपर्छ सुनौं कसोगरी
वितण्डाको चोटहरू पाक्दै पिल्सिदै छन्
घरअगाडि तिहार आयो मनाउँ कसोगरी !
नमनाउँ त दाजुभाइको निधार खाली हुन्छ
आफ्नो हात् नि खाली हुँदा यो मन अति रुन्छ
प्रकृति र मानिसको जोडका तोड युद्ध
लासै लासको रास देख्दा छाती चिरा हुन्छ ।
चेत शून्य मानव अझै दिमाग तताउँदै छन्
भ्रष्टाचारको बाटो हिँड्न सुगा रटाउँदै छन्
प्राणीमध्ये बौद्धिक प्राणी मानव भए मूर्ख
ऐतिहासिक इज्जत देशको डाँडो कटाउँदै छन्
सयपत्री फुल्नु झुल्नु भूल जस्तो लाग्छ
मखमली नओइलिनु भूल जस्तो लाग्छ
डर लाग्छ चाडबाडसँगै भूत आउलान् भनी
अस्थिरता मुटु घोच्ने शूल जस्तो लाग्छ ।
बनेपा, काभ्रे।

                                                                                                            
                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: