कविता

विद्या महिमा

१२ चैत्र २०८२
डा. सत्यराज थपलिया

विद्या महिमा

विद्या त हो सौहृद/मित्र हाम्रो ।
विद्याविना बुद्धि हुँदैन राम्रो ॥
विद्या सबैको धन हो विशेष ।
विद्याविना उन्नत हुन्न देश ॥१॥

विद्या भए बन्न सकिन्छ दक्ष ।
विद्याविना पूर्ण हुँदैन लक्ष्य ॥
विद्या सिकौँ नित्य दिएर ध्यान ।
विद्याविना प्राप्त हुँदैन ज्ञान ॥२॥

विद्या सुसम्पत्ति रहेछ हेर ।
विद्याविना जीवन जान्छ खेर ।
विद्या पढे ज्ञान उसै चुलिन्छ ।
विद्याविना सत्पथ नै भुलिन्छ ॥३॥

विद्या न भै’ आत्म कहाँ चिनिन्छ ?
विद्या भए झन्झट नै छिनिन्छ ।
विद्या पढे मिल्दक दिव्य ज्ञान ।
विद्याविना बन्दछ को महान ? ॥४॥

बाँडेर विद्या कहिल्यै सकिन्न ।
विद्या भए सक्छ निजात्म चिन्न ॥
विद्या त धोकेपछि नै चुलिन्छ ।
विद्या नघोके सजिलै भुलिन्छ ॥५॥

विद्या भए हुन्न अभाव केही ।
विद्याविना बुझन सकिन्न देही ॥
विद्या भए बल्छ सधैं अँगेनु ।
विद्या त हो वास्तव कामधेनु ॥६॥

विद्या न भै’ बुझ्न सकिन्न अर्थ ।
विद्याविना जीवन हुन्छ व्यर्थ ॥
विद्या भए चित्त हुने प्रहर्ष ।
विद्या बढ़ाऔँ सबले सहर्ष ॥७॥

विद्या न क्वै तस्कर चोर्न सक्छ ।
विद्या त बाँडे पनि नित्य बढ्छ ॥
विद्या कहाँ लाग्दछ भागबन्डा ?
विद्याविना हुन्न दिमाग ठण्डा ॥८॥

बोकेर हिँड्दा नहुँने गह्रुङ्गो ।
विद्या सुसर्वोत्तम साधनै हो ।
विद्या भए बन्न सकिन्छ ज्ञानी ।
विद्याविना व्यर्थ छ जिदगानी ॥९॥

सन्तोष अर्काकन दिन्छ विद्या ।
भाग्छे अविद्या छ भने सुविद्या ॥
विद्या हुँने मानिस हो विशेष ।
विद्याविनाको यश कीर्तिशेष ॥१०॥

विद्या भए प्राप्त गरिन्छ दीक्षा ।
विद्याविना मिल्दछ के सुशिक्षा ?
विद्या बढ़े चित्त भई वितृष्ण ।
आत्मा सबैको बुझिने छ कृष्ण ॥११॥

देख्ने जगद्व्यापक विष्णु एक ।
विद्या भए बढ्छ स्वयम् विवेक ॥
श्रीकृष्ण आत्मा बुझिने सबैको ।
विद्या भनेको निज ज्ञान नै हो ॥१२॥

विद्या बढ़े बढ्दछ नित्य सान ।
विद्या पढ़े मिल्छ यथेष्ट खान ॥
विद्याविना तुल्य बनिन्छ ऋक्ष ।
विद्या न हो कल्पित कल्पवृक्ष ! ॥१३॥

छन्द : इन्द्रवज्रा ।
लिखु–६, थानसिङ, नुवाकोट।
मिति : २०८२।०९।११ गते शुक्रबार ।

प्रतिक्रिया दिनुहोस्: