मेरो बाल्यकाल धेरै रमाइलो थियो । म धेरै उट्फट्याङ काम हर्थेँ । मसँग छ जना साथीहरू थिए । मेरो बाल्यकाल गाउँमा बित्यो । म र मेरा साथीहरू साना साना डोका लगेर घाँस, दाउरा लिन जान्थ्यौँ । हामी बाटोमा गीत गाउँदै हिँड्थ्यौँ ।
एक दिन म र मेरा साथीहरूले चटपटे बनाएर खाने योजना बनायौँ । हामीले सामान एउटा बारीमा लगेर लुकायौँ र घाँस काट्न थाल्यौँ । डोको भरिएपछि चटपटे बनाएर खान भनेर मुख मिठ्याउँदै आएको त बाँदरले त पोको नै रुखमा लगेर यताउता गर्दै रहेछ । बाँदरले पोको खसाल्छ कि भनेर ससाना ढुङ्गा टिपेर हिर्काउँदै थियौँ । त्यतैतिर आइरहनुभएको मेरा ठूला बुबालाई पो लागेछ । ठूला बुबा नराम्ररी रिसाउनुभयो । हामी सबैले कान समातेर माफी मागेपछि उहाँले भन्नुभयो, ‘छोरीहरू भएर पो केही गरिनँ त, अरू भएको भए जानेको थिएँ । तिमीहरूलाई बाँदर आउँछ भन्ने थाहा हुँदाहुँदै कसले यहाँ राख्नु भनेको थियो त ?’ ठूला बुबा यति भनेर बाटो लाग्नुभयो ।
मेरी एउटी साथीले भनी, ‘चटपटे खान भनेर पो छिटोछिटो गरेर घाँस काटेको त । यति छिटो के घर जानु र ! बरु रुखमा चढेर हल्लाई खेलौँ ।’ उसको कुरामा सबैको सहमति भयो । हामीले सबैभन्दा पहिला उसैलाई रुखमा चढ्न दियौँ अनि बाँकीले रुख हल्लायौँ । ऊ खुब खुसी भई । ऊ अझै माथि जान्छु भन्दै माथि उक्लिन खोज्दै थिई, उसको खुट्टा चिप्लिएर तल खसी । उसको खुट्टा भाँचियो । हामी निकै डराउँदै उसलाई घर पुर्याइदियौँ । उसकी आमाले रिसाउँदै भन्नुभयो, ‘अब यसले खुट्टा भाँचेर आइछ । तिमीहरूले पक्कै के उट्फट्याङ काम गरेको हुनुपर्छ । अब म तिमीहरूलाई सजाय नदिइकन कहाँ छोडुँला र !’ उहाँको कुरा सुनेर हामी निकै डरायौँ । मैले अलि हिम्मत गरेर सोधेँ, ‘कस्तो सजाय काकी ?’
उहाँले हाँस्दै भन्नुभयो, ‘अब यसलाई ठिक नहुन्जेल तिमीहरू दिनको एकपटक भए पनि हाम्रो घर आएर यसलाई समय कटाउनको लागि साथ दिनुपर्छ । यो सुनेर हाम्रो अनुहार अत्यन्तै उज्यालो भयो । मैले उहाँको छातीमा टाँसिदै भने, ‘हामीलाई त ढुङ्गा खोज्दा देवता मिल्यो काकी । आखिर आमा भनेको आमा नै हो ।’
जेसिका तामाङ
कक्षा : ७
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ, काठमाडौँ ।


प्रतिक्रिया दिनुहोस्: