कविता

विद्रोह गर् लेखनी

१५ चैत्र २०८२
सविता बराल

मेरो रूप प्रतीक, बिम्ब, रस हो आफैँ अलङ्कार हो
हो विश्लेषण, भाव, छन्द लय हो विस्तार हो सार हो ।
के लेखूँ कविता, कथा, गजल के लेखूँ समालोचना ?
लेख्छन् गाउँ समाज दैनिक ममा व्याख्या र आलोचना ॥१॥

मेरा सामु कठोर व्याकरणका सिद्धान्त बन्छन् फिका
बाँधी ह्रस्व र दीर्घका नियमले बाँधिन्न मेरो व्यथा ।
घुर्दै बस्छ समानता महलका सोफाहरूमा सधैँ
पाखामा अधिकार खोज्छु झुपडी नङ्ग्रा खियाई अझै ॥२॥

गोजीमा तरबार राम मुखले जप्नेहरूका भर
मेटिन्थे किन शृङ्खला दमनका, दासत्वका आखिर ।
हिंसाका अपमानका मगजमा क्षेप्यास्त्र हान् शब्दका
आफैँ उठ् अब लेखनी सब उखेल् सङ्कीर्णता, दासता ॥३॥

के हो तन्त्र र वाद के चलनको फोर्दैन ताला भने
के हो शासन भेदको कहरको उस्तै छ चाला भने
गोली अक्षरका प्रहार अब गर् बेला भयो लब्धको
आफ्नै तागतले प्रमाणित गरा के शक्ति हो शब्दको ॥४॥

लेख् लेख् लेख् अब लेखनी मनुज को ? को सृष्टि ? को सत्त्व हो ?
चाहन्छन् यदि बुझ्न मानव बुझा ‘मातृत्व मातृत्व हो ।’
देखोस् लोक दिवारभित्र कसरी चल्दै छ यो जीवनी
देखा, धार लगा छिटो कलममा विद्रोह गर् लेखनी ॥५॥
छन्द : शार्दूलविक्रीडित ।

सिदिङ्वा–४, ताप्लेजुङ
हाल : कौशलटार, भक्तपुर

प्रतिक्रिया दिनुहोस्: