२०८३ साल आश्विन २४ गते। लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौंको आयोजनामा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्यमा लामो समयदेखि कथा, यात्रा संस्मरण, नियात्रा लेखेर उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएकी साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा नगद रु. १०,००० (दश हजार रुपैयाँ) पुरस्कार’ प्रदान गर्नुभयो। नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त यशस्वी उपन्यासकार तथा कवि लीलाध्वज थापाको नाममा स्थापना गरिएको प्रतिष्ठानका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो ।
साहित्यकार इल्याले कथासंग्रह, यात्रासंग्रह आदि लेखेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ। साथै उहाँ दर्जनभन्दा बढी साहित्यिक तथा सामाजिक संस्थामा संलग्न हुनुहुन्छ। उहाँले उत्तम शान्ति पुरस्कार लगायत विभिन्न साहित्यिक तथा सामाजिक संघ–संस्थाबाट पुरस्कार, सम्मानपत्र, कदरपत्र आदि प्राप्त गरिसक्नुभएको छ ।
सम्मान ग्रहण गर्दै स्रष्टा इल्याले लीलाध्वज थापाले लेख्नुभएको मन उपन्यास आफू सानो छँदा नै पढेको र उहाँप्रति ज्यादै प्रभावित भएकोमा हाल उहाँकै नामबाट स्थापना भएको साहित्यिक प्रतिष्ठानबाट सम्मानित र पुरस्कृत हुन पाउँदा ज्यादै खुशी भएको विचार व्यक्त गर्दै सम्मानका लागि प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिमा डा.बमबहादुर थापा जिताली, साहित्यकार ठाकुर शर्मा भण्डारी, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पूर्व प्रशासक अर्जुनमणि दीक्षित लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले इल्याको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष विजयध्वज थापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, वीरबहादुर लोहनी, उत्तम विचार, मधुसूदन प्रसाद घिमिरे, सञ्जय सोती, सुन्दर खड्का, रणबहादुर बुढाथोकी, अमर किर्तिमानी तथा जि.के.एन. खडेरी, चेवन बस्नेत, एन बी जनकपुरी, महेशप्रसाद रिजाल, दुर्गा किरण तिवारी, तारा केसी, सुशान्त केसी, कुसुम पोखरेल, राज रजक, राजेन्द्र सुवेदी, राजाराम राउत, मुरारि अर्याल, लब खड्का, राजेशमान केसी, मन भुजेल, माया बस्नेत थापा, रुपा रिसाल, इन्दिरा ढकाल, राधा कार्की, जित कार्की, गजेन्द्र बोहरा, एम बि पाण्डे, रेणुका भट्टराई, निशा केसी, जुमन किरण, अर्जुन चन्द्र, मदन नेपाललगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै सम्मानित स्रष्टाबारे प्रकाश पार्नुभएको थियो भने स्रष्टा उत्तम विचारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष विजयध्वज थापाले साहित्यकार इल्या भट्टराईले नेपाली साहित्यमा दिनुभएको योगदानको चर्चा गर्दै सम्मान गर्न पाउनु स्वयं संस्था र आफ्नो लागि पनि गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो। हालसम्म प्रतिष्ठानले ८४ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान, ९ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको जानकारी गराउँदै रचना वाचन, सम्मान, पुरस्कार प्रदान, कविता प्रतियोगिता तथा पुस्तक प्रकाशनमार्फत साहित्य सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्: