२०८३, काठमाडौं, असोज २५ गते आइतबार । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको टोखा नगरपालिकाको विकासमा एकजुट भएर अगाडि बढ्ने कुरामा सबैले ऐकबद्धता जनाउनुभएको छ ।
पूर्व जनप्रतिनिधि फोरम, टोखा नगरपालिकाले आयोजना गरेको स्मारिका विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताहरूले टोखाको विकास, निर्माणमा एकताबद्ध भएर अगाडि बढ्ने कुरा बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा.चन्द्रमणि अधिकारीले स्थानीय तहलाई संविधानले दिएको अधिकार र जिम्मेवारी अनुसार स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै स्थानीय जनताका समस्या सुन्ने नजिकको सरकार स्थानीय सरकार भएकाले यसले आफ्नो अधिकार र जिम्मेवारी सही ढङ्गले सञ्चालन गर्नुपर्ने कुरामा जोडदिनुभयो ।

नेपाली कांग्रेसकी नेत्री एवं बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गीले स्थानीय नागरिकसँग जोडिएर प्रत्यक्ष सेवा पुर्याउने, विकास–निर्माणमा अग्रसरता लिने र सुशासन कायम गर्ने सवालमा पूर्व जनप्रतिनिधि फोरमले पुर्याउने काम र गतिविधिहरू प्रशंसनीय हुनुपर्ने बताउनुभयो ।
टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले पूर्व जनप्रतिनिधि फोरमले गरेको कार्यहरूमाथि प्रकाश पार्दै अबका दिनमा फोरमले बदलिँदो समय र माग अनुसार जनताका आवश्यकलाई ध्यानदिएर काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखाका सभापति सूर्यप्रसाद काफ्ले, नेकपा (एमाले) टोखाका अध्यक्ष गोपिकृष्ण पाठक, नेपाली काँग्रेस टोखाका उपसभापति विजय कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी टोखाका अध्यक्ष रामराज श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी टोखाका अध्यक्ष सुदर्शन थापा, नेपाल मजदुर किसान पार्टी टोखाका अध्यक्ष शोभालाल श्रेष्ठलगायतले टोखाको विकास, निर्माण र पहिचानलाई थप प्रभावकारी र व्यापक रूपमा विस्तार गर्न यस जनप्रतिनिधि फोरमले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाकी पूर्व उपमेयर तथा फोरमकी संरक्षक ज्ञानमाया डंगोल, वडा नं.९ का वर्तमान अध्यक्ष राभभक्त घिमिरे, पूर्व प्रशासक मोहन चापागाईंलगायतले पनि टोखाको विकास र समृद्धिको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
फोरमका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष उत्तम अधिकारीले टोखाको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा शैक्षिक र आर्थिक क्षेत्रका विकास, निर्माणमा फोरमले गर्दै आएको काम बारे प्रकाश पार्नुहुँर्दै टोखाको विकास र समृद्धिमा सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा फोरमद्वारा टोखा नगरभित्रका विविध पक्षलाई समेटेर प्रकाशन गरेको स्मारिका पनि विमोचन गरिएको थियो । फोरमका संस्थापक अध्यक्ष दीपकराज जोशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण कृष्ण अधिकारीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: