प्रा.डा.पोखरेललाई ‘गोविन्द भट्ट स्मृति सम्मान’

२९ आश्विन २०८३

काठमाडौं, असोज २४ गते । साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खला आयोजना गरी भाषावैज्ञानिक, समालोचक एवम् निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा अङ्ग्रेजी तथा नेपाली साहित्यका विद्वान प्रा.डा.अभि सुवेदी उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू प्रा.डा.जीवेन्द्रदेव गिरी, प्रा.डा.जगत्‌प्रसाद उपाध्याय ‘प्रेक्षित’, वासुदेव अधिकारी र प्रा.डा.देवी नेपाल, प्रा.डा.हेमनाथ पौडेल, प्राज्ञ विष्णु प्रभात, डा.हरिप्रसाद भण्डारी, प्रा.कोशराज न्यौपाने, प्रा.डा.लेखप्रसाद निरौला, साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रह्‌लाद पोखरेल, पत्रकार प्रकाश सिलवाललगायत उपस्थित हुनुहन्थ्यो ।

उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । प्रा.डा.हेमनाथ पौडेलले विख्यात समालोचक, चिन्तक, निबन्धकार तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा विशद चर्चा गर्नुभएको थियो ।

त्यसैगरी २०८२ सालको साहित्य सन्ध्या–गोविन्द भट्ट पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरीको संयोजकत्वमा जयन्ती स्पन्दन र गोपालकुमार मैनाली सदस्य रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएको थियो ।

संयोजक प्रा.डा.गिरीले पुरस्कृत हुनुहुने प्रा.डा.माधवप्रसाद पोखरेलको व्यक्तित्व तथा कृतित्वका बारेमा विशद प्रकाश पार्नुहुँदै नेपालको भाषाविज्ञानका क्षेत्रमा अनुसन्धान गर्नुभएका, विद्यालयदेखि विश्वविद्यालयसम्म र अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्म अध्यापन गर्नुभएका माधव सर वास्तवमै नेपाल र नेपालीका गौरव हुनुभएकोभएको धारणासहित विशद चर्चा गर्नुभएको थियो ।

वि.सं.२००५ मङ्सिर ७ गते सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलको सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल नेपाली वाङ्मयमा वरिष्ठ भाषाविद्, प्रखर समालोचक र आत्मपरक निबन्धकारका रूपमा सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ ।
नेपाल, भारत, जापान, चीन, स्विजरल्यान्ड, जर्मनी, अमेरिका र स्विडेनको भ्रमण गर्नुभएका उहाँंका भाषाविज्ञान, निबन्ध र समालोचना विधाका दर्जनौँ कृति प्रकाशित छन् । यसरी भाषाविज्ञानका साथै नेपाली निबन्ध र समालोचनाका क्षेत्रमा पुर्‍याउनुभएको अनुकरणीय, महत्त्वपूर्ण र विशिष्ट योगदानको उच्च सम्मान गर्दै प्रा.डा.पोखरेललाई वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित पचास हजार द्रव्यराशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान (२०८२) अर्पण गरिएको छ ।

साहित्य सन्ध्याले यो वर्षदेखि विद्वान् व्यक्तित्वले समय र मिहिनेत लगाएर कुनै विद्वान्‌को व्यक्तित्व तथा कृतित्वका बारेमा लेख्नुपर्ने तर यथोचित पारिश्रमिक दिननसकिने अवस्थालाई केही हदसम्म अन्त्य गरी न्यूनतम पारितोषिक प्रदान गर्ने, विद्वान् व्यक्तित्वसँग लिखितमा मागेर साहित्य सन्ध्याको मासिक प्रकाशन शब्द संयोजनमा प्रकाशित गर्ने र सङ्ख्या पुगेपछि कृतिका रूपमा प्रकाशित गर्ने लक्ष्य राखेर यसपटक प्रा.डा.हेमनाथ पौडेलज्यूलाई रु.५,०००।– पारितोषिक अर्पण गर्ने निर्णयानुसार प्रमुख अतिथिज्यूले उहाँलाई समर्पण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: