हरिबोधिनी एकादशी मेलाको अवसरमा सुप्या सहकारीद्वारा निःशुल्क खाजा वितरण

१० मंसिर २०८३

काठमाडौं, २०८३, कार्तिक ८ गते । बूढानीलकण्ठको ऐतिहासिक हरिबोधिनी एकादशी मेलाको अवसरमा सुप्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष पनि निःशुल्क खाजा वितरण कार्यक्रम आयोजना गरेको छ।

बूढानीलकण्ठ नगरपालिका–३ मा रहेको संस्थाले कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा मेला भर्न आउने श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी लगातार पाँचौ वर्ष पनि निःशुल्क खाजा वितरणको कार्यक्रम सञ्चालन गरेको हो।

यसअघि गत वर्ष आयोजित कार्यक्रममा करिब ३ हजार ५०० जना भक्तजनले खाजा ग्रहण गर्नुभएको जानकारी संस्थाकी व्यवस्थापक जया श्रेष्ठले दिनुभयो। उहाँका अनुसार धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा भक्तजनलाई सेवा पुर्‍याउने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले संस्थाले हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

सहकारी संस्थाको भूमिका बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी सामाजिक सेवा र सामुदायिक हितका कार्यमा समेत सक्रिय सहभागिता जनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई जोड्ने यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारी संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया दिनुहोस्: