‘असार पनि लाग्न लाग्यो, बिउ चाँडै छर्नुपर्छ, यसपालि मनसुन छिटै भित्रिँदै छ रे ! खेत रोप्ने चाँजोपाँजो यो वर्ष चाँडै मिलाएर बस्नुपर्छ, फेरी पोहोरको जस्तो अरूसँग रोपाईं जुध्यो भने गोरु, लाठे , रोपारहरू पाउनै मुस्किल हुन्छ’ भनेर बाआमा वा घर का ठुलाबडाले कराउने दिन पनि गए ।
असार वर्षादको महिना हो । जति पानी पर्थ्यो, बाआमा, दाजुहरूको मुहारमा उति खुसी फुलेको देखिन्थ्यो । परेको पानीसँगै मान्छेका मनमा छुट्टै आनन्द आएको देखिन्थ्यो । बाली समयमै लाग्ने भो, खेती सप्रने भो भन्नेमा मान्छे दङ्ग हुन्थे । तर आज असारमा पानी पर्दामा खुसी हुने पहिला पहिलाको जस्तो त्यो क्षण र त्यो समय छैन ।
आज मान्छेहरू शहरमुखी भएका छन् । गाउँमा खेती गर्ने किसानहरू घटेका छन् । भएकामा पनि खेती गर्ने नयाँ औजार र प्रविधिहरू भित्रिएका छन् । आजभोलि पहिला पहिलाको जस्तो धेरै जग्गाजमिनमा खेतीपाती पनि गरेको पाइँदैन । पैला पेसा नै कृषि हुन्थ्यो, त्यो पनि अचेल छैन । थोरै खेतबारीबाट धेरै अन्नबाली उब्जाउने नयाँनयाँ तरिकाको विकास र विस्तारले खेती र असारप्रतिको महत्त्व कृषकहरूमा घट्दै र कमी हुँदै भएको देखिन्छ ।
‘मानो रोपेर मुरी फलाउने महिना’, ‘बेस्सरी पानी र झरी पर्ने महिना’, ‘खेतीपातीको महिना’, ‘विनासार को महिना-बेफुर्सदी महिना’, असार महिना । तर आजभोलि यी सबै कुरा हराउँदै असारमा ‘बेस्सरी पानी र झरी पर्ने महिना’ मात्र बाँकी रहन थालेको छ । मेलापात, भारोपर्मको संस्कृति सबै लोप भैसकेका छन् गाउँ, समाजबाट । आज त अधिकांश नगदमा कारोबार, सबै पैसामा, ज्यालामा काम गर्ने भेटिन्छन् । अझै असारे भाकामा गीत गाएर नाँच्ने चलन हरायो । रोपाइँमा बाजा बजाउने चलन खै ! रोपाइँमा हिलाम्मे भएर खेल्दाको मजा बेग्लै हुन्थ्यो, त्यो आज औपचारिकतामा मात्र सीमित भएको छ । मेलापात, रोपाइँदाइँ, भारोपर्ममा पाइने प्रेम, सहयोग, सद्भाव, आज विस्तारै लोप भैरहेका छन् । त्यसैले त हामी स्वार्थी, घमण्डी र छाडा हुँदै गैरहेका छौँ । हाम्रा ती स्वर्णिम इतिहास आज सम्झनामा मात्र रहन पुगेका छन् ।
उता परम्परागत रूपमा मनाइँदै आएको १५ असारको बेग्लै महत्त्व र रौनक हुन्थ्यो । त्यसदिन खेती लगाइसकिएको खुसीयालीमा दही–चिउरा खाने र हिलो खेल्ने मजा नै छुट्टै रहन्थ्यो । लाग्छ, जीवनका ती सुनौला दिनहरूबाट हामी बिस्तारै टाढा हुँदै गइरहेका छौं, पछि पर्दै गइरहेका छौँ । असारे भाका अनि खहरे खोलाका सुसेलीहरू हामी भुलिरहेका छौँ, बिर्सिरहे का छौँ । खै त आज हाम्रा प्रेमिल ती असारे महिनाहरू !
आशा गरौँ ! हामी हाम्रा खेती प्रणालीलाई अवश्य बिर्सने छैनौँ । आफ्ना खेतबारीलाई बाँझो राखेर अन्न, तरकारी, फलफूल र दही–दुधमा परनिर्भर बन्दै विषादीयुक्त खाना खाएर रोगी बन्ने छैनौँ ।


प्रतिक्रिया दिनुहोस्: