
बालबालिकामा पठनप्रति रुचि बढाउन विद्यालय तथा घरघरमा पुस्तकको पहुँच बढाउनुपर्छ
डा. शैलेन्दुप्रकाश नेपाल
लामो समयदेखि शिक्षण पेशामा आवद्ध डा.शैलेन्दुप्रकाश नेपाल वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँका कविता, निबन्ध, खण्डकाव्य, महाकाव्य, समालोचना र बालसाहित्यका ३७ बढी कृतिहरू प्रकाशित छन् र तीनवटा महाकाव्य प्रकाशित गरिसक्नुभएका नेपाल महाकवि पनि हुनुहुन्छ । हाल हिमाली सौगात (द्वैमासिक) का प्रधान सम्पादक रहँदै आउनुभएका नेपालले एक दर्जन पत्रिकाको सम्पादन गर्नुभएको छ । २०२९ सालमा ‘फूलहरू’ कविताबाट लेखन आरम्भ भर्नुभएका डा.नेपालले २०३९ सालमा ‘निबन्धकार देवकोटा’ झङ्कार पत्रिकाबाट प्रकाशन आरम्भ गर्नुभएको थियो । कलाचार्य, शिक्षाशास्त्री, विद्यावारिधि (नेपाली) डा.नेपाल पद्मकन्या बहुमुखी क्यामपस, बागबजारमा प्राध्यापनरत हुनुहुन्छ । डा.नेपालले साहित्यका विविध विषय र क्षेत्रमा तीन दर्जन बढी सम्मान तथा पुरस्कार पाइसक्नुभएको छ भने उहाँ एक दर्जन साहित्यिका संस्थाहरूमा संलग्न हुनुहुन्छ । विक्रम सम्वत् २०१८ साल मङ्सिर २९ गते भोजपुरको कटुँजेमा जन्मनुभएका नेपाल हाल टोखा न.पा.–५, वसुन्धरा, काठमाडौँमा बस्दै आउनुभएको छ । यिनै शिक्षा र साहित्यका धरोहर डा.नेपालसँग सेई बोर्डिङ्ग स्कुल, लिखु–६, छहरे, नुवाकोटका कक्षा : ७ का छात्राहरू स्वस्तिका फुयाँल र बसुधा कार्कीले विद्यालय परिसरमा साहित्यका विविध विषय र प्रसङ्गमा कुराकानी गरेका थिए । संसाक मासिकका सम्पादक/प्रकाशक उमेश पाण्डेले सहजिकरण गर्नुभएको उक्त कुराकानीका प्रमुख अंशहरू यहाँ प्रस्तुत गरिएका छन् :
स्वस्तिका : सुरु यसरी गरौँ कि साहित्य के हो ? हजुरको धारणा या परिभाषा के छ ?
उत्तर : साहित्य जीवनको कलात्मक अभिव्यक्ति हो । यो मानव सभ्यताको मेरुदण्ड हो र चेतनाको सर्वोच्चता हो ।
बसुधा : हजुरलाई साहित्यमा लाग्ने प्रेरणा कोबाट प्राप्त भयो ? अग्रजहरू साहित्यमा लाग्न किन प्रेरित हुन्छन् ?
उत्तर : प्रथमतः म मेरै पिताजी पूर्णप्रकाश नेपालबाट प्रेरित बनेँ । उहाँ साहित्यकार, साहित्यिक पत्रकार, शिक्षक र समाजसेवी हुनुहुन्थ्यो । तसर्थ सानै उमेरदेखि मैले भाषासाहित्यसँग रमाउने अवसर प्राप्त गरेँ । मलाई मेरी हजुरआमा हरिप्रिया नेपाल र पोखराको सुन्दर प्रकृतिको पनि प्रभाव छ ।
प्रेरणा भनेको शिक्षा हो, मार्गदर्शन हो । कोही कतै कुनै कुराबाट प्रभावित र प्रेरित नभई कुनै कार्यमा अग्रसर हुँदैन । आफूमा निहित प्रतिभालाई जागृत गराउन व्यक्ति, घटना, वातावरणको जागरण चाहिन्छ । त्यसो हुनाले प्रत्येक साहित्यकार, कलाकार, वैज्ञानिक, समाजसेवीलाई अगाडि बढ्नलाई प्रेरणा वा प्रभाव आवश्यक पर्दछ ।
स्वस्तिका : हजुरले कहिलेदेखि साहित्य लेखन सुरु गर्नुभएको हो ? कृतिहरू के कति प्रकाशित छन् ?
उत्तर : एघार वर्षको उमेरदेखि मैले कविता लेख्न शुरु गरेको हुँ । त्यतिखेर म ६ कक्षामा पढ्थेँ । हालसम्म मेरा कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, समालोचना र बालसाहित्यका समेत गरी तीन दर्जन कृतिहरू प्रकाशित भएका छन् ।
बसुधा : सिर्जनामा लेखिए अनुसार हामी व्यवहारमा पनि लागु गर्छौं त ?
उत्तर : साहित्यलाई समाजको दर्पण भनिन्छ । त्यसो हुनाले लेखकले समाजमा देखेका–भोगेका घटना, प्रसङ्गहरूलाई मिलाएर साहित्य रचना गर्दछ । जुन व्यक्ति, घटना र ठाउँबाट विशेष प्रभाव पर्यो त्यसैलाई विषयवस्तु बनाएर लेख्ने गरिन्छ । लेखकले कुनै सन्दर्भलाई सकारात्मक/नकारात्मक कुनै शैलीमा प्रस्तुत गर्नसक्छ । जस्तो हामी अनुकूल कुराको प्रशंसा गर्छौं भने प्रतिकूल कुराको निन्दा गर्दछौँ । सकारात्मक कुरा पढेर प्रत्यक्ष प्रभाव ग्रहण गर्नुपर्दछ र नकारात्मक कुराबाट पाठ सिकी आफू सचेत बन्नुपर्दछ । साहित्यकारले आफ्नो सिर्जनामा आफ्ना कुरा/अनुभूति राखेको हुन्छ । हामीले महाकवि देवकोटाका कृति पढ्दा ठाउँ–ठाउँम उनलाई भेट्न सकिन्छ । साहित्यकारले व्यक्ति/पाठक वा समाजलाई सचेत गराएर सुधार/उन्नतिको बाटो देखाउने हो । शिक्षा दिने हो । आनन्द दिने हो । साहित्यकारले देखाएको बाटो हिँडेर हामी सभ्य बन्छौँ, उन्नतिशील बन्छौं ।
स्वस्तिका : हजुरको साहित्य सिर्जना गर्ने उपयुक्त समय, अवस्था र वातावरण कुन हो ?
उत्तर : म समान्यतया बिहान, बेलुका र फुर्सदको समयमा लेखनमा जुट्ने गर्छु । शान्तिपूर्ण एकान्त वातावरणमा लेख्न सजिलो हुन्छ ।
बसुधा : हाम्रा यी नदी–नाला, खोला–खेल्सा, पाखा–पखेरा, वन–जङ्गल, यी फाँट–गरा पनि साहित्य लेखनको लागि सिर्जनाका स्रोतहरू बन्न सक्छन् ? के लाग्छ हजुरलाई ?
उत्तर : हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जे हेर्यो त्यो सुन्दर लाग्छ । हिमाल, पहाड, फाँट, नदीनाला, पशुपक्षी, तालतलैया जुनसुकै कुराले हामीलाई चाँडै प्रभावित पार्दछ । विश्वको सर्वोच्चशिखर सगरमाथा हामीसित छ । अनेकौँ हिमालहरू छन् । हिमाल उच्चता र स्वच्छताका प्रतीक हुन्, त्यसैले हाम्रा साहित्यकारहरूले उच्चता र वीरताका गीत/कविता रचेका छन् । नदीनाला, झरना सुन्दर दृश्य र मीठो ध्वनिका माध्यम हुन् । हामी सधैं गीत गाउन मन पराउँछौँ । हाम्रा अनेकौँ भाका/लयहरू छन् । त्यसैले देशको प्रकृतिले साहित्यकारलाई सधैंभरि ऊर्जाशील बनाइरहन्छ ।
स्वस्तिका : अध्यापन, प्राध्यापन गर्ने व्यक्तिहरू बढी साहित्यमा लाग्नुहन्छ, उहाँहरूलाई के कुराले प्रेरित गर्छ र लाग्नुहुन्छ ?
उत्तर : शिक्षकले आफ्ना विद्यार्थीहरूलाई सधैंभरि पथप्रदर्शन गर्नुपर्छ । चेतनाको ढोका खोलिदिनुपर्छ । योग्य र सफल मानव बनाउने वातावरण र ज्ञान दिनुपर्छ । त्यसो हुनाले अरूले लेखेका राम्रा र स्तरीय साहित्य धेरै पढ्नुपर्छ । अनि कतिपय अवस्थामा आफैं सृजनशील बनेर विद्यार्थीहरूलाई प्रेरणा र प्रोत्साहन दिनुपर्ने हुन्छ । साहित्य, कलामा रुचि नहुने मानिस सफल शिक्षक बन्न सक्दैन । त्यसैले शिक्षकलाई साहित्य/कला सृजना गर्न विद्यार्थी, समाज र अग्रजहरूका कृतिले बढी प्रेरित गर्दछन् । अनि धेरैजसो शिक्षकहरू साहित्य/कलाप्रति रुचि राख्नेगर्छन् ।
बसुधा : नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ ? केही बताइदिनोस्न ?
उत्तर : नेपाली साहित्यको वर्तमान अवस्था विकासको बाटोतिर लम्किरहेको छ । धेरै सर्जकहरू सक्रिय रहेका छन् । देश विदेश सबैतिर नेपाली साहित्यको प्रचार बढेको छ । सञ्चारका माध्यमबाट निरन्तर साहित्यिक कार्यक्रमहरू चलिरहेका छन् । कृतिहरू प्रकाशित भइरहेका छन् । यो अत्यन्त खुशीको कुरा हो । तर लेखनलाई स्तरीय बनाउन नवोदित सर्जकहरू साधनामा जुट्नैपर्छ । एकैपटकको लेखन सधैंभरि परिष्कृत हुनसक्दैन । त्यस कुरामा सबैको ध्यान जानु अपरिहार्य छ ।
स्वस्तिका : नेपाली साहित्यका कृतिहरू गुणात्मकभन्दा सङ्ख्यात्मक बढी भएको भनिन्छ, के त्यस्तै हो ?
उत्तर : अवश्य हो । तर सङ्ख्या धेरै हुनु धेरै जना सक्रिय हुनुको प्रमाण हो । गुणात्मकता चाहिँ लामो परिश्रम र साधनाले मात्र प्राप्त हुन्छ । प्रतिभा, अध्ययन र अभ्यासलाई गम्भीरता साथ मनन गरेर अगिबढ्दा उपलब्धि हासिल हुनसक्छ । गुणात्मक कृतिहरू पनि आइरहेका छन् ।
बसुधा : एउटा असल र स्थापित साहित्यकार बन्न प्रतिभा कि निरन्तरको अभ्यास ?
उत्तर : प्रतिभा नभई अभ्यासले मात्र त खासै उपलब्धि हासिल हुँदैन । मैले माथि भनेजस्तो तीनवटा आधारभूत कुराको संयोजन/समन्ययले मात्र स्थापित साहित्यकार बन्न सकिन्छ ।
स्वस्तिका : साहित्यको अध्ययन तथा लेखनले हाम्रो शैक्षिक अध्ययन, अध्यापनमा के कस्तो सहयोग पुर्याउँछ ?
उत्तर : धेरै महत्त्वपूर्ण सहयोग पुर्याउँछ । मैले माथि पनि सङ्केत गरेको छु । एउटा शिक्षक सृजनशील छ भने उसले सदैव आफ्ना विद्याथीलाई सृजनाका निम्ति घचघच्याउँछ, उसको शिक्षण काम रोचक हुनेगर्छ । त्यसबाट दिनचाहेको ज्ञान/शिक्षा सजिलै सम्प्रेषण हुनसक्छ । त्यसैभएर विश्वभरि शिक्षकलाई उच्च सम्मानका दृष्टिले हेरिन्छ, विकसित र सभ्य समाजमा । शिक्षामा साहित्य नजोडिए त्यसले पूर्णता पाउँदैन । त्यसको सान्दर्भिक प्रयोग कक्षा कोठामा गरिन्छ । म आफैं पनि प्रत्येक कक्षाकोठालाई एउटा पुस्तकालय र प्रत्येक विद्यार्थीलाई एउटा रोचक पुस्तकका रूपमा लिनेगर्थें र गर्छु अझै पनि । एउटा विद्यार्थीबाट मानव मनोविज्ञान, संस्कृति, भाषा, अभिरुचि, सामाजिकता, स्थानीय प्रभावजस्ता धेरै कुरा शिक्षकले सिकिरहेको हुन्छ । विद्यार्थीलाई शिक्षकको र शिक्षकलाई विद्यार्थीको दोहोरो प्रभाव परिरहेको हुन्छ भन्ने मान्यतामा म दृढ छु ।
बसुधा : साहित्यले एउटा व्यक्तिको जीवनमा खास के कुरा दिन्छ ?
उत्तर : साहित्य मानव सभ्यताको मेरुदण्ड भएकोले यसले प्रत्येक मानवलाई प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहेकै हुन्छ । मानवीय चेतनाको मूलकारक साहित्य नै हो । यसले आत्मसन्तुष्टि, आत्मगौरव र आत्मविश्वास दिन्छ । जीवनलाई सुखद र सुमधुर बनाउन, सार्थक बनाउन पथप्रदर्शन गर्दछ । कथा सुन्ने रहर, नाटक खेल्ले/हेर्ने रहर कसलाई हुँदैन ? अनि गीत सुनेर आनन्दित नहुने को छ दुनियाँमा ? अझ स्तरीय र रोचक साहित्यले त लेखकलाई भौतिक रूपमा सन्तुष्टि पनि दिन्छ । समाजमा प्रतिष्ठित र लोकप्रिय बनाएर गौरव पनि दिन्छ साहित्यले । तसर्थ साहित्यको उपयोगिता धेरै छ मानव जीवनमा ।
स्वस्तिका : आज हाम्रो समाजले खोजेको साहित्यचाहिँ कस्तो हो त ?
उत्तर : साहित्य लेख्नकालागि नलेखेर उद्देश्यमूलक हुनुपर्छ । समाजलाई पथ पदर्शन गर्ने हुनुपर्छ अनि सन्तुष्टि पनि दिनुपर्छ । हाम्रो समाजले स्तरीय र उपयोगी साहित्यको अपेक्षा गरेको हुन्छ । त्यस पक्षमा प्रत्येक सर्जकले गम्भीरतापूर्वक सोच्नैपर्दछ ।
बसुधा : सामाजिक सञ्जाल र डिजिटल मिडियाको कारण ससाना बालबालिका र विद्यार्थीहरूको घट्दै गएको किताब पढ्ने बानीमा कसरी सुधार ल्याउन सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
उत्तर : वर्तमानमा सामाजिक सञ्जालले साहित्यलाई एकातिर प्रचारमुखी बनाइरहेको छ भने अर्कोतर्पm बालबालिकामा पठन रुचि घट्दै गएको अवस्था टड्कारो बनेको छ । यसका लागि प्रत्येक विद्यालय तथा घरघरमा पुस्तकको पहुँच बढाउनुपर्छ । बालसाहित्यका रुचिपूर्ण पुस्तकहरूको पर्याप्तताले बालबालिकाको ध्यान त्यसतर्फ खिचिन्छ । विकसित मुलुकतिर एककक्षामा पढ्ने ६ वर्षको बालकले वर्षभरिमा एकहजार पुस्तक पढ्नुपर्छ रे ! उनीहरूको चेतनाको विस्तारमा त्यसले धेरै सहयोग पुग्छ । पढ्ने बानी बस्छ । हामी कहाँ त्यस्तो व्यवस्था भइरहेको छैन । घरमा होस् वा विद्यालयमा मोबाइलको प्रयोगमा नियन्त्रण गर्नु आवश्यक छ बालबालिकामा । पाठ्यपुस्तक पढ्न मात्र उक्साउने होइन, बाह्य ज्ञानवद्र्धक, अभिरुचिपूर्ण पुस्तक (बालसाहित्यसमेत) पढ्न र त्यसको समीक्षा गर्नतिर प्रोत्साहित गर्दै गयो भने उनीहरूमा पठन रुचिको विकास अवश्य हुन्छ ।
स्वस्तिका : अन्त्यमा, हजुरलाई भन्न मन लागेका कुनै कुरा छन्, जुन हामीले सोध्न सकेनौँ ?
उत्तर : धेरै कुरा आइसकेका छन् । विद्यार्थीले पढाइलाई सर्वोपरि महत्त्व दिनुपर्छ अनि आफ्नो अभिरुचिको क्षेत्र साहित्य, कला, खेलकुद जे छ त्यसतर्पm प्रवृत्त हुनुपर्छ । सधैंभरि म योग्य, सफल र उच्च मानिस बन्छु भन्ने दृढइच्छा राख्नुपर्छ । इच्छा शक्ति नै सबै मानवका लागि सफलताको महत्त्वपूर्ण कडी हो ।
अन्त्यमा, मलाई सम्झनुभयो । मेरा कुरा सुन्नुभयो । सबैलाई धन्यवादसहित हार्दिक शुभकामना छ ।
प्रतिक्रिया दिनुहोस्: