मेरो देश
अञ्जना गिरी
कक्षा : १०
सगरमाथाको ताज लगाई सजिएको देश
मनै लठ्ठ पार्ने खालको पृथक परिवेश
फूलबुट्टे सारी लगाई हाँस्ने तराई फाँट
पहाडका श्रेणी हेरी जुर्मुराउँछ आँट ।
झरनाका झरझरले तान्छ सबको मन
हरिया रनवन यहीँ छन् असीम धन
लेकबेँसी, उपत्यका र रमाइला छन् टार
संसारको सबै थरी सुन्दरताको सार ।
कोइलीको कुहुकुहु वसन्तको मास
फैलाउँछ प्राणीमा छुट्टै खालको आश
वनभरि लालीगुराँस फुल्दा मन खुल्छ
सुसाउने सल्लाघारीे दुःख पीर भुल्छ ।
अनेकतामा एकताको बन्छ यहीँ माला
विश्वशान्तिको कामना बल्छ ज्ञान पाला
वीरहरूको रगतले जोगाएको यो थलो
सीधा स्वभावले सदा सोच्छ सबको भलो ।
कति राम्रो देश मेरो स्वर्ग यहीँ देख्छु
अन्तिम सास रहेसम्म यसकै गाथा लेख्छु
देश रहे रहुँला म नत्र छैन पहिचान
यो देश नै सर्वस्व हो मेरो गौरव, सान
बाल विकास बोर्डिङ हाई स्कुल
बूढानीलकण्ठ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: