मुक्तकसागरको  शुभकामना आदानप्रदान तथा मुक्तक वाचन कार्यक्रम 

२१ आश्विन २०८३

काठमाडौँ, २०८३, असोज १८ गते । मुक्तकसागरको आयोजनामा बडा दशैँ तथा दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान एवम् विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुभएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेटको मौनधारणबाट गरिएको थियो। लगत्तै १० वर्षीय बालक अनुरभ अर्यालले भ्वाइलिनमार्फत दशैँको धुन बजाएर हलमा विशेष रौनक थपेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचनले आफू मुक्तक लेखनमा संलग्न सम्भवतः पहिलो महिला भएको स्मरण गर्दै ‘मुक्तकसागर’ले नेपाली मुक्तकको विकास र प्रवर्द्धनमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

त्यसैगरी, विशिष्ट अतिथि एवम् नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले पहिलेको तुलनामा अहिले मुक्तक लेख्नेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउनुभयो। धेरै लेखिँदै जाँदा मुक्तकको स्तरीयतामा निखार आउने उहाँको भनाइ थियो।

कार्यक्रममा स्थानीय वडाध्यक्षले शुभकामना व्यक्त गर्दै मुक्तक छोटो भए पनि यसले समाजका विकृतिमाथि चोटिलो व्यङ्ग्यबाण प्रहार गर्ने सामर्थ्य राख्ने बताउनुभयो।

‘मुक्तकसागर’का संरक्षक रविन्द्र गिरीले निशा केसी विद्यालय उमेरदेखि नै लगनशील र अब्बल रहेको सम्झँदै त्यतिबेला पनि आफ्ना रचनाहरू लेखेर सुनाउने गरेको स्मरण गर्नुभयो।

उक्त कार्यक्रममा मुक्तककारहरू ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, सुभाषचन्द्र ढुंगेल, तारा के.सी., अर्जुन, कल्पना काफ्ले, दुर्गा किरण तिवारी, लव खड्का, गंगा कर्माचार्य पौडेल, राजेशमान केसी, रुविना राणा, गुप्त बहादुर श्रेष्ठ, उषा केसी, विजयध्वज थापा, गोविन्द नागेला, बालकुमारी फुँयाल, प्रमोद नेपाल, नानीबाबा अधिकारी, रोमा लम्साल, वसुन्धरा चौहान ‘सुनिता’, चन्दा सुनुवार, कल्पना दाहाल र जुमन किरणलगायतले आ-आफ्ना उत्कृष्ट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

मुक्तकसागरकी सम्पादक निशा के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व नुरा बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जितेन्द्र रसिकले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: