संसाक गर्छ वन्दना
डुबी संस्कृति साहित्य कलाको गर्न चिन्तन
जन्मिएथेँ हिजोजस्तो टेक्दै छु चौध वर्षमा ।
पढ्नेलाई दिने ज्ञान हमेसा गर्छ जो प्रण
म संसाक हुँ संसाक साझा साहित्य दर्पण ॥१।
रखवारी सधैँ गर्छु विसङ्गति विरुद्धमा
लिएर शब्दको गोलीगठ्ठा उत्रन्छु युद्धमा ।
साहित्यिक समस्याको गरूँ भन्छु निवारण
म संसाक हुँ संसाक साझा साहित्य दर्पण ॥२।
नयाँ छन् यसमा अट्ने पुराना काव्य सर्जक
पढ्नेहरू झनै प्यारा ठान्छ आफ्ना उपाशक ।
त्यसै आलस्यमा लीन हुने छैन कुनै क्षण
म संसाक हुँ संसाक साझा साहित्य दर्पण ॥३।
खुट्टा तान्नेहरूलाई दिएर हात हुर्किएँ
एकलो पार्न खोज्नेमा लिएर साथ फुर्किएँ ।
हात धोएर नै लाग्नुपर्ने देख्दिनँ कारण
म संसाक हुँ संसाक साझा साहित्य दर्पण ॥४।
उठ्ने छैन हुँदा एक्लो लिएर साथ उठ्छु म
हैँसे गर्न परे होस्टे गर्नुहोस् नित्य जुट्छु म ।
जसले प्रेमले आज दिनुभो’ शुभकामना
नमस्कार सबैलाई संसाक गर्छ वन्दना ॥५।
छन्द : अनुष्टुप।
लिखु–६, थानसिङ, नुवाकोट।


प्रतिक्रिया दिनुहोस्: