जताततै वेथिति, अन्याय र अत्याचारको राज
अनि कसरी बन्छ यो देश, यो समाज !
जताततै भ्रष्टाचार अनैतिक, दुराचार
अनि कसरी बन्छ जनताले सरकार !
प्रहरी, प्रशासन, न्यायालयबाट
सुशासन र समृद्धिको आशा गरेका छन् ।
जिम्मेवार सबै तह र पक्षहरूबाट
संरक्षित र सुरक्षित छौँ, भन्ने चाहेका हुन्छन् ।
जनता सोध्छन्, ‘यो देशमा सरकार छ कि छैन ?’
जनताको समस्या र अप्ठ्यारोमा कुरा उठ्दैनन् ।
पार्टी र नेताहरूको यसतर्फ ध्यानै जाँदैन ।
जनताप्रति जवाफदेही हुनुपर्ने सरकार
जनता छकाउने र भ्रष्टाचार लुकाउने पक्षमा हिँड्छ ।
संविधान र कानुनको शासन छैन
यतिखेर लोकतन्त्रमा लुटतन्त्रहावी छ ।
जनता रोएको, कराएको ठाउँमा सरकार पुग्दैन ।
नैतिक दबाबको प्रश्न सरकारले बुझ्नैन ।
जनता आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक,
हरेक क्षेत्रमा बारम्बार आवाज उठाइरहेका छन्,
सरकार सत्ता जोगाउने र टिकाउने खेलमा मस्त छ ।
देशमा तीन तहका सरकार छन् ।
अड्डा, अदालतमा बिनाशर्त केही काम हुँदैन ।
सिफारिस, किनबेच, मिलापत्र जहाँसुकै पैसाकै कुरा !
यहाँसम्म कि कर, तिरो तिर्न पनि घुसको कुरा !
सेवाग्राहीले दुःख, हण्डर व्यहोर्दै पैसा नै तिर्नुपर्ने ।
पैसा नभै वरको पत्र पर नसार्ने,
फाइल उठाएर के छ भनेर पनि नहेर्ने
कुरा काट्न भने सबै जान्ने ।
यो नेता यस्तो, ऊ नेता यस्तो,
प्रधानमन्त्रीले यसो गरे, मन्त्री यस्ता र उस्ता छन्,
सचिवले यसो गर्यो, हाकिम यस्तो छ,
काम छाडी कुरा काटेर बस्नमै कर्मचारी व्यस्त
तलदेखि माथिसम्म र माथिदेखि तलसम्म
यस्तै सुनिन्छ, यस्तै देखिन्छ ।
हामीले देख्दै र भोग्दै आएका कुरा हो ।
कसैले हो भनेर सहमति गरे पनि,
कसैले हैन भनेर असहमति जनाए पनि
हाम्रो सुशासनको यथार्थ स्वरूप यही हो ।
सुरक्षा र आर्थिक पक्ष अझ बेहाल छ ।
प्रधानमन्त्री, मन्त्री, पार्टीका ठूलाबडाले
यसो हुनुपर्छ, यसो गर्दै छु, भनेर
जनतालाई आश्वस्त नपारेको किन ?
सचिव, निर्देशक, अधिकृत कारिन्दा
सबैको बोली, व्यवहार र गराइ
उही अलमले, ढलमले र हुतिहारा पाराको
अनि बन्छ देश कसरी !
कोहीभन्दा कोही कमीका छैनन्
सबै जान्ने, सबै सुन्ने ।
सबैलाई विद्वान्, ज्ञानी, असल र विवेकी बन्नुपर्ने ।
मेरो अधिकार यो
मैले यो अधिकारको प्रयोग गर्दा
जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ भन्ने कोही नसोच्ने ।
अर्कालाई जेसुकै होस्, आफूलाई भए भयो ।
कामै नगरी बिना श्रम आए, पाए भयो ।
न काम गर्नेलाई कामप्रतिको जिम्मेवारीको बोध छ,
न जिम्मेवार निकायलाई श्रमिक र नागरिकप्रतिको
उत्तरदायित्व र जबाफदेहिता नै रहेको देखिन्छ !
यही अवस्था र यही पद्धतिको विकास हुँदै गयोभने
देशमा सुशासन र समृद्धिको जिम्मा कसले लिने !


प्रतिक्रिया दिनुहोस्: