काठमाडौ, साउन १७ गते आइतबार। कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’को लोकार्पण भएको छ ।
राजधानीमा नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.कृष्णप्रसाद दाहाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, पवन आलोक, कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरू स्मरण गर्दै सुवेदीलाई मिलनसार, सक्रिय र लगनशील व्यक्तित्वको रूपमा आफूले पाएको बताए ।
लोकार्पित पुस्तकमाथि प्रा.डा.कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रूपमा सुवेदीलाई पाएको बताए । उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको कृति पहिलो जस्तो नलाग्ने भन्दै कविताले पाठकको मन जित्ने धारणा राखे ।
कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य, चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे । कवि सुवेदीले आफ्ना अनुभूतिहरू सार्वजनिक गरिन ।
उक्त कार्यक्रममा लोकार्पित कृतिका कविताहरु विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला र खुशी अधिकारीले बाचन गरे ।
श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरे । डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन।


प्रतिक्रिया दिनुहोस्: