जनसाहित्य यात्रामा कवि डा.चालिसेका कविता गुञ्जिए

१४ जेष्ठ २०८२

काठमाडौं, जेठ १० गते शनिबार । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष बागबजार, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ९९ औँ शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, शैक्षिक संस्थामा नेतृत्व, साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका अग्रज एवम् सशक्त प्रगतिवादी स्रष्टा प्रा.डा.विदुर चालिसे का एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घकी अध्यक्ष भूमिका सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो । महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा सङ्घका सल्लाहकारद्वय प्रा.डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, डम्बर पहाडी, डा.हरिप्रसाद सिलवाल, महासङ्घका संरक्षक, प्रेमनाथ अधिकारीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक महासचिव डा.कृष्ण सुवेदीले कविनायकको परिचय दिनुभएको थियो ।

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत सहित ‘अविरल जनसाहित्य यात्रा’को इतिहास र वर्तमानको अवस्था बारे बताउनुभएको थियो । उहाँले यस शृङ्खलामा डा.चालिसेलाई प्रस्तुत गर्नुको कारणमाथि पनि प्रकाश पार्नुभएको थियो ।

कविनायक डा.विदुर चालिसेले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै ‘के दिऊँ तिमीलाई ?’ ‘कविगोष्ठीको शिविरबाट’, ‘सालिकजस्तैलाई’, ‘दर्शकहरू’, ‘समवेदना ग्रन्थी र सन्दर्भ’ र ‘रोटी सेकाइरहँदा’ शीर्षकका छओटा गद्यकविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू सोमनाथ दाहालले ‘फुलिदिने लालुपातेसँग’, गोपालकुमार मैनालीले ‘आदर्श सुन्न गाउँतिर’, भवानी पाण्डेले ‘हिप्नोटिज्मको झ्याम्टा’, डम्बर पहाडीले ‘खामभित्रको प्रवास’, नमुना शर्माले ‘अल्छी गुराँसहरू’ र त्रिलोचन आचार्यले ‘च्याङमाइको डबलीमा’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि डा.रमेश शुभेच्छुले टिप्पणी गर्नुभएको थियो । समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेललेधन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: