पारामाउण्ट वक्तृत्वकलामा उत्कृष्ट

३१ जेष्ठ २०८२

काठमाडौ, जेठ २४ गते शनिबार । नर्दन एजुकेसन फोरम (नेफ) ले आयोजना गरेको काठमाडौंको उत्तरभेगीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा पारामाउण्ट एकेडेमी, टोखा–८, गोंगबुँ उत्कृष्ट भएको छ । ग्रीनल्याण्ड हाई स्कुलमा आयोजना भएको प्रतियोगिताको सभापतित्व नेफका अध्यक्ष नारायण रोकाले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिकाको शिक्षा शाखा प्रमुख बाबुराम गौतम रहनुभएको थियो । त्यस अवसरमा प्याब्सन केन्द्रिय उपाध्यक्ष थकिनकुमार गुरुङ र प्याब्सन जिल्ला कार्य समिति काठमाडौंका सदस्य मुकुन्दप्रसाद पाण्डे अतिथिको रूपमा उपस्थित हुनुभएको थियो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ३ समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा नेफ अन्तर्गतका स्कुलका ४१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कक्षा १ देखि ४ सम्मको आधारभूत समूहबाट आफ्ना प्रतिस्पर्धीहरूलाई पछिपार्दै पारामाउण्टकी वर्षा पौडेल (कक्षा : ३) प्रथम भइन् । उनको विषय थियो ‘मलाई मन पर्ने विषय, किन र कसरी ?’ त्यस अन्तर्गत वर्षाले ‘नेपाली’ विषयमा बोलेकी थिइन् । त्यसैगरी कक्षा ५ देखि ७ सम्मको प्राथमिक समूहबाट पारामाउण्ट स्कुलको जस्मिन लेनिन मगर (कक्षा : ७) तेस्रा भइन् । उनको वक्तृत्वको विषयचाहिँ ‘सामाजिक सञ्जालको प्रभाव र चुनौति’ थियो । प्रतियोगितामा कक्षा ८ देखि १० सम्मको समूहमा पनि पारामाउण्ट एकेडेमीकी समीक्षा राउत (कक्षा : १०) उत्कृष्ट प्रवचन दिँदै आफ्नो समूहमा सर्वोकृष्ट भइन् । उनको प्रवचनको विषय ‘सबै बालबालिकाको विद्यालयमा समभागिता र गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ रहेको थियो ।

आफ्नो विद्यालयको उत्साहजनक सहभागिता र उत्कृष्ट नतिजाको लागि विद्यार्थीहरूमा हौसला र प्रेरणा जगाउन पारामाउण्ट एकेडेमीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह के.सी.को उपस्थितिमा जेठ २७ गते मङ्गलबार छुट्टै कार्यक्रमको आयोजना गरी प्रथम हुने वर्षा र समीक्षालाई जनही रु.१०००।– (एक हजार) र तृतीय हुने जस्मिनलाई रु.५००।– नगद प्रदान गर्दै सम्मान गरेको थियो । त्यसैगरी कार्यक्रममा तीनै तहका शिक्षकहरू रीता देवकोटा, मधु थापा र गौरीप्रसाद काफ्लेलाई जनही रु.२०००।– (दुई हजार) नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: