
काठमाडौँ, असार १ गते । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रहको लोकार्पण प्रमुख अथिति ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले
गर्नुभएको छ ।
प्राज्ञ धमलाले समाज भनेको विविधताको सौन्दर्य हो । कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो। कृति समाजका साहित्यिक, सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा प्रमुख अतिथि धमलाले बताएका हुन् । उनले ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी, सरल र सटिक रहेको बताए। कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।
कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमारश्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मनतव्य राख्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बालकविता सङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताउनुभयो। श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्।
भावनाका लहरहरूमाथि कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपन्यासकार पार्वती श्रेष्ठले राख्नुभयो। यसैगरी कार्यक्रमको सञ्चालन पत्रकार टीकादास श्रेष्ठले गर्नुभयो । उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आवद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।
प्रतिक्रिया दिनुहोस्: