
काठमाडौं , जे ठ २५ । साहित्यिक पत्रकार संघद्वारा उपन्यासकार किरण आचार्यको दोस्रो उपन्यास परशुरामको परिचर्चा कार्यक्रमको आयोजना गरियो । कथाकार माया ठकुरी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा वक्ताहरूले किरण आचार्यले पौराणिक कथालाई आजको स्थितिसमेत प्रतिबिम्बित हुने गरी औपन्यासिक रूप दिएर महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
कार्यक्रममा इतिहासकार एवम् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको समय हाम्रा लागि अत्यन्त जटिल भएको बताउँदै यो स्थिति चिर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वरिष्ठ साहित्यकार प्रमोद प्रधानले पौराणिक विषय र पात्रलाई केन्द्रित गरी उपन्यास लेख्नु सजिलो नभएको धारणा राख्दै अझ त्यसलाई आजको समय, परिस्थिति र समस्यासँग जोड्नु थप कठिन भएको उल्लेख गर्नुभयो । ‘उपन्यासकार आचार्यले त्यस कठिन कामलाई अत्यन्त गम्भीरतापूर्वक पूरा गर्नुभएको छ’, उहाँले भन्नुभयो ।
समालोचक डा. गोविन्दमानसिंह कार्कीले उपन्यास विषय, संरचना र शैली सबै दृष्टिबाट महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले किरण आचार्य लामो समयदेखि लेखनकार्यमा समर्पित भएको बताउँदै उहाँको आगामी लेखन यात्राका लागि शुभकामना दिनुभयो ।
उपन्यासकार किरण आचार्यले उपन्यासको रचनागर्भ बारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा सङ्गीतकार एवम् उपन्यासकार सन्तोष श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष उपन्यासकार पद्मावती सिंहले स्वागत भाषण गर्नुभएको थियो ।
उपन्यास समाजका अध्यक्ष उपन्यासकार शंकर भारतीले नेपाली साहित्यमा स–साना संरचना भएका विधा, उपविधा बढी लेखिने तर उपन्यास लेखन अत्यन्त कम रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्: