
२०८२ असार ११, काठमाडौं । सखी प्रतिष्ठानले हिजो तपस होटल, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा “जीवनपथ” गीति म्युजिक भिडियो (लघु चलचित्र) को प्रिमियर सो प्रदर्शनी गर्यो ।
साहित्यकार मन्जिला अनिलको शब्द र चर्चित सङ्गीतकार एवं गायक नरहरी प्रेमीको सङ्गीत र स्वरमा निर्माणाधीन सो म्युजिक भिडियो (चलचित्र) को छायांकन वीरेन्द्र भाट “विपिन”ले गरिरहनु भएको छ ।
“जीवनपथ” गीति म्युजिक भिडियो सर्जक अनिलनाथ उप्रेतीको जीवनसँग सम्बन्धित कथामा निर्माणाधीन रहेको शब्दकार मन्जिला अनिलले बताउनु भयो ।
सर्जक अनिलनाथ उप्रेतीको ५९ औं जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कार्यक्रमका सभापति मन्जिला अनिल, विशिष्ट अतिथिहरु शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, चर्चित सङ्गीतकारहरु सीताराम पोखरेल (नेपाल आयल निगमका पूर्व निर्देशक) र सङ्गीतकार नरहरी प्रेमीले “जीवनपथ” म्युजिक भिडियोको “प्रोमो” सार्वजनिक गर्नु भएको थियो ।
साहित्यकार मञ्जिला अनिलका पति अनिलनाथ उप्रेतीको ५९ औं जन्मोत्सवको अवसर पारेर सार्वजनिक गरिएको उक्त बाह्र मिनेटको “जीवनपथ” को प्रिमियर सो रहेको थियो ।
कवि माननीय मीना श्रेष्ठको विशेष उपस्थिति रहेको सो कार्यक्रममा सर्जक अनिलनाथ उप्रेती नेपाल आयल निगमको अधिकृत पदबाट ४१ वर्ष लामो सेवा अवधि पुरा गरी अवकाश प्राप्त हुनु भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राधेश्याम लेकालीले सखी प्रतिष्ठानको उदेश्य, गतिविधि तथा नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै अनिलनाथ उप्रेतीलाई जन्मदिनको शुभकामना दिनुभयो ।
सोही कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडीले कवि मञ्जिलाको शब्द रचनाको प्रशंसाा गर्दै गीति चलचित्र अनिलनाथ उप्रेतीका लागि मञ्जिलाको प्रेमोपहार भएको बताउनुभयो ।
कार्यक्रममा सङ्गीतकार सीताराम पोखरेलले अनिलनाथ उप्रेतीसँगको आफ्नो सम्बन्ध, सहकार्य, अनुभव र सक्रियताको बारेमा संक्षेपमा प्रकाश पार्दै गीत गाउनु भएको थियो ।
सार्वजनिक गरिएको “जीवनपथ” गीति म्युजिक भिडियोका सङ्गीतकार एवं गायक नरहरि प्रेमीले म्युजिक भिडियोबारे चर्चा गर्दै आफूले कर्म गर्दै आएको तर फलको आशा नराखेको बताउनु भयो । प्रेमीले अनिलनाथ उप्रेतीको जीवनकथामा आधारित मञ्जिला अनिलको शब्दरचनालाई गाउन पाउँदा ज्यादै खुसी भएको भन्दै “जीवनको के भरोसा” बोलको गीत पनि गाउनु भएको थियो ।
कार्यक्रममा अनिलनाथ उप्रेतीले कवि मञ्जिलाको शब्दरचना, सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत र स्वर तथा गीति चलचित्रको प्रशंसाा सहित आफ्नो गीत सर्जक कमला रिसालसित संयुक्त गाउनु भएको थियो ।
कार्यक्रममा नेपाल आयल निगमका सहकर्मी इन्जिनियर अनुपम पराजुलीले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले स्वागत मन्तव्य राख्दै आफ्नो पतिको जन्मोत्सव विशेषका अवसरमा आफ्न शब्दरचनामा गीति लघु चलचित्र प्रदर्शन गर्न पाएकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा निशु शर्माले जय होस् तिम्रो मङ्गल होस् बोलको गीत गाउनुभयो भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू विक्रमभक्त जोशी, सुभाषचन्द्र पौडेल, मधु पाठक, उषा के. सी., तुलसी गिरी, नेपाल आयल निगमका कर्मचारीहरू र अनिलका परिवारजन लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: