काठमाडौं, असोज ६ गते। कवि माया बस्नेत थापाको कवितासङ्ग्रह ‘परदेशी चरो’ लोकार्पण गरिएको छ । कल्पलता साहित्य परिवार, कल्पलता द्वैमासिक र अक्षरधाम प्रकाशनले असोज ६ गते जालपा पुस्तकालयमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका अवकाश प्राप्त रथी डा. प्रेमसिंह बस्न्यात, कृति सर्जक माया बस्नेत थापा र कार्यक्रमका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त काव्यकृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा डा. प्रेमसिंह बस्न्यातले कवि थापालाई फक्रिँदै गरेकी नेपाली साहित्यकी कोपिलाको सङ्ज्ञा दिँदै कविता सङ्ग्रहको सुरुवात् कविको आफ्नै घरबाट परदेसिएको आफन्तको लामो पर्खाइको पीडा प्रतिबिम्बित भएको चर्चा गर्नुभयो । हाम्रो समाज र घरपरिवारकै विषयवस्तुलाई आधार बनाएर कविता रचिएको जस्तो भान हुने प्रसङ्ग उल्लेख गर्दै डा. बस्न्यातले सर्जक बस्नेतलाई कृति सफलताको कामनासमेत दिनुभयो ।
लोकार्पित कृतिको समीक्षा गर्दै डा. शैलेन्दु प्रकाश नेपालले नवोदित कवि थापाका कवितामा बेग्लै प्रकारको आकर्षण र मिठास रहेको बताउनुभयो । उहाँले कविताकलालाई धेरै बुट्टा भरिरहनु पर्दैन, अनुभूतिलाई सहजताका साथ अभिव्यक्ति गर्दा पनि आकर्षक प्रवाह हुन सक्छ भन्ने कुरा लोकार्पित काव्यकृति ‘परदेशी चरो’ बाट सिक्नसकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार ‘सिर्जनाका टाकुरा’ डा. दामोदर पुडासैनी ‘किशोर’ले शुभकामना मन्तव्य व्यक्त गर्दै सिर्जनाका सुरुवाती चरणदेखि नै कवि थापाको सिर्जना क्षमता राम्रो रहेको र आज लोकार्पित कृतिले यसको झनैं पुष्टि गरेको छ, भन्नुभयो ।
कार्यक्रममा डा. प्रेमराज सिलवाल, बाल साहित्यकार डा. छायादत्त न्यौपाने, बागलुङ-काठमाडौं घुम्ती विकास मञ्चका अध्यक्ष प्रशान्त ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा लोकार्पित कवितासङ्ग्रह ‘परदेशी चरो’बाट डा. मन खत्रीले ‘परदेशी चरो’ शीर्षकको कविता र डा. अम्बिका अर्यालले ‘जन्मठाउँ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
तथा कवि माया बस्नेत थापाले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कविका पति बेद थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । जालपा पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सी.को अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।
अक्षरधाम प्रकाशनका संचालक एवम् साहित्यकार देवराज सिंखडाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन कल्पलता द्वैमासिकका प्रधान सम्पादक घनबहादुर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वको शुभकामनासमेत आदान प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्: