गर्मी गयो, छैन चिसो बढेको ।
हिलो सुकी स्वच्छ भयो शरद् यो ॥
बाली झुली सुन्दर खेत बारी ।
बन्दै गए, फूल फुले हजारी ॥१॥
सन्झ्याल ढोका घर वारिपारि ।
माला तथा तोरणले सिँगारी ॥
बजारमा व्यापक भो मिठाई ।
व्यापार बढ्दोछ तिहार आई ॥२॥
यथार्थमा काग र कुक्कुरै को ।
गाई तथा गोरु र भाइकै पो ॥
पूजा हुने श्रीयमपञ्चकै यो ।
नजीकिँंदैमा घर मग्मगायो ॥३॥
फोहोर खाने अनि नित्य आई ।
विशुद्ध वातावरणै बनाई ॥
दिने समाचार ’नि कागलाई ।
पूजार्चना भो’ पहिले रमाई ॥४॥
उठी विहानीपखमा सबेर ।
घसेर पैले तिलको त तेल ॥
नर्के नुहाईकन चार दीप ।
प्रदान गर्ने दिनमा विशेष ॥५॥
सन्तुष्ट भै’ मालिकको सुभक्त ।
बन्दै सुरक्षा घरको त गर्छ ।
भन्दै कुनै कुक्कुरसम्मको यो ।
पूजा हुँने पर्व तिहार नै हो ॥६॥
हरिप्रियातुल्य बुझेर गाई ।
पूजा गरे छाप टिको लगाई ॥
रङ्गीविरङ्गी मनमोहकारी ।
दीपावली भो’, झलमल्ल पारी ॥७॥
पद्मा स्वरूपी गृहिणी रमाई ।
लक्ष्म्यर्चना भो, सुखरात्रि आई ॥
जुटेर जम्मै घरका जहाना ।
खेल्ने जुवा संस्कृति यो महान ॥८॥
पाएर साक्षात् वर वामनैको ।
प्रचार गर्दै बलिराज्यकै यो ॥
क्वै भैलिनी नाम धनेर भैलो ।
मागे दिनै पर्दछ खोल दैलो ॥९॥
गोवत्स गोवद्र्धन अर्चनाले ।
चौथो दिनैमा बलि पुज्नथाले ॥
क्वै देउसी खेल्न जमरे धाए ।
झुलेर क्वै पीङतिरै रमाए ॥१०॥
सम्बन्ध दाज्यू बहिनी दुवैको ।
प्रगाढ पार्ने यमुना यमैको ॥
चरित्र बोकेर तिहार आयो ।
दुर्भाव सारा मनको हरायो ॥११॥
दिदी र बैनी अनि दाजुभाइ ।
प्रसन्न छन् पर्व तिहार आई ॥
पूजा गरी दीप घडा गणेश ।
छेकी स्वयम् तद्विधिले विशेष ॥१२॥
हाली दुबोले शिरमाथि तेल ।
टीका लगाई फलफूल सेल ॥
दही मिठाई सब चीज ल्याई ।
चेली दिनेछन् निज बन्धुलाई ॥१३॥
टीका लगाईकन सप्तरङ्गी ।
पैह्रेर माला अधिकै उमङ्गी ॥
भएर द्यौसी पनि खेल्न आए ।
भट्याउँदै आसिक गीत गाए ॥१४।
हत्या बलात्कार नहोस् कुक्रान्ति ।
हिंसा नहोस् होस् अब विश्वशान्ति ।
घमण्ड डाहा रिस राग छाडी ।
विकासको निम्ति बढौँ अगाडि ॥१५॥
स्वदेशका शासक विघ्न भ्रष्ट ।
न भै’ गरून् सद्व्यवहार प्रष्ट ।
सत्कर्ममा जाँगर जोस जागोस् ।
सद्बुद्धि देशोन्नतितर्फ लागोस् ॥१६॥
कोही नहून् क्रोधमुखी जहान ।
सुभाषिणी हून् गृहिणी महान ॥
कैल्यै कुनै चीज नहोस् अभाव ।
परोस् यही आसिकको प्रभाव ॥१७॥
ऐश्वर्य सम्पन्न भई विशेष ।
दीर्घायु हून् रोगविहीन लोक ॥
सन्मित्र भै’ गर्न सकून् पियार ।
उल्लासका साथ बितोस् तिहार ॥१८॥
छन्द : उपजाति ।
लिखु–६, थानसिङ, नुवाकोट।
हाल : शामाकोशी, काठमाडौ।


प्रतिक्रिया दिनुहोस्: