काठमाडौं, कार्तिक ४ गते । ‘कला, साहित्य र संस्कृति : समाजको उन्नति’ भन्ने आदर्श वाक्यका साथ आजभन्दा ३० वर्षअगाडि स्थापना भएको मनमैजू साँस्कृतिक समाज (मसांस) ले आफ्नो स्थापना दिवसको ३० औँ वार्षिकोत्सव विविध कार्यक्रमको साथ सम्पन्न गरेको छ । त्यस अवसरमा आफ्ना विविध गतिविधिको साथै साहित्यिक लेख, रचनाको सँगालो वार्षिक अङ्क ‘मन्थन’ को लोकार्पण र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीसमेत मनाइएको थियो । मसांसका अध्यक्ष ध्रुवराज खड्काको सभापतित्त्व र तारकेश्वर नगरपालिका, काठमाडौंका नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘मन्थन’ का प्रधान सम्पादक डा.घनश्याम पुडासैनी विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो ।

कार्यक्रमका सभाति ध्रुव खड्का, प्रमुख अतिथि कृष्ण हरि महर्जन, विशिष्ट अतिथि डा.घनश्याम पुडासैनीलगायत अतिथिहरूले संयुक्तरूपमा ‘मन्थन’ को लोकार्पण गर्नुभएको थियो ।
‘मन्थन’ का प्रधान सम्पादक डा.घनश्याम पुडासैनीले शुभकामना मन्तव्य राख्दै पुस्तक प्रकाशनका लागि भए गरेका विविध विषय र प्रकाशनको अवस्थामा भोग्नु परेका अप्ठेरा, असजिला समस्याहरूका बारेमा आफ्नो भनाइ राख्दै वार्षिक रूपमा भएपनि यसको प्रकाशनलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले ‘कोखदेखि शोखसम्म’ कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै नगरपालिकाले धर्म, संस्कृति, भाषा, साहित्यको लागि सधैं सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुभयो । उहाँले जेन्जी आन्दोलनको क्रममा क्षति पुगेको मसांसको भवनलाई तत्काल सहयोग गरेर पहिलाकै अवस्थामा पुर्याउने घोषणासमेत गर्नुभयो ।
कार्यक्रमका सभापति तथा मसांसका अध्यक्ष ध्रुवराज खड्काले समाजको ३० वर्षे गतिविधिका बारेमा सङ्क्षिप्त प्रकाश पार्दै समाजले विगतदेखि गर्दै आएका कार्यक्रमहरूलाई निरन्तरता दिन सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो । खड्काले समाजको आदर्श भावना ‘कला, साहित्य र संस्कृति : समाजको उन्नति’ लाई निरन्तरता दिन मसांस परिवार एकढिक्का भएर लागेको र आफू त्यसको लागि कहिल्यै पछि नहट्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा समाजकी कार्यसमिति सदस्य अस्मिता धमला हमाललगायतले गीत, कविता र नाटक प्रस्तुत गर्नुभएको थियो ।
समाजकी महिला तथा बालबालिका समिति प्रमुख तथा साहित्यकार भवानी मैयाँ पन्तको संयोजनमा आयोजित कार्यक्रममा समाजकी महासचिव तथा फिल्मी नायिका तारा के.सी.ले कार्यक्रमको सञ्चालन तथा उद्घोषण गर्नुभएको थियो ।
वार्षिकोत्सव तथा शुभकामना आदानप्रदानको उक्त कार्यक्रममा मसांसका वर्तमान कार्य समितिका सदस्यहरू, पूर्व पदाधिकारी तथा सदस्यहरू, समाजका गन्यमान्य अग्रजहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र साहित्यकार तथा कलाकाहरूको उपस्थिति रहेको थियो ।

                                    
                                    
                                    
                                    
प्रतिक्रिया दिनुहोस्: