प्रा.डा. कार्कीलाई सम्मान तथा कविता वाचन 

२५ चैत्र २०८२

२०८२, काठमाडौं, चैत्र २४ गते मङ्गलबार। एक विशेष कार्यक्रमको आयोजना गरी प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई सम्मान गरिएको छ। साहित्यकार निरा श्रेष्ठको आयोजना र नित्य वेयर्स ललितपुरको प्रायोजनमा  भएको नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि कवि तथा गीतकार एस. पी. कोइरालाले त्रिभुवन विश्वविद्यालयको शिक्षण पेशाबाट ३५ वर्षे सेवा अवधि पूरा गरी हालै सेवानिवृत्त हुनुभएका प्रा.डा. कार्कीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो।  नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि कवि तथा गीतकार एस.पी. कोइरालाले प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई सम्मान गर्दै सेवानिवृत्त जीवन अझ सक्रिय रहोस् भन्ने शुभकामना समेत दिनुभयो।
सभापति पवन आलोकले प्रा.डा. कार्कीको सामाजिक, साहित्यिक तथा शैक्षिक योगदान उच्च रहेको चर्चा गर्दै सेवानिवृत्त जीवन अझ सुन्दर र सक्रिय रहोस् भन्ने कामना व्यक्त गर्नुभयो।
सम्मानित व्यक्तित्व प्रा.डा. कार्कीले आफ्नो लेखन यात्राबारे सङ्क्षेपमा प्रकाश पार्दै प्राप्त सम्मानका लागि कार्यक्रमका संयोजक, प्रायोजक र उपस्थित अतिथिहरूमा आभार प्रकट गर्नुभयो।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकालीले प्रा.डा. गोविन्दमानसिंह कार्कीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा प्रा. डा. कपिल अज्ञातले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा स्रष्टाहरू विजयध्वज थापा, मुकुन्द पौडेल, कृष्ण बाउसे, उमेश पाण्डे, ध्रुवराज थापा ‘पुरुष’, रामप्रसाद पन्त, प्रमोद प्रधान, मदन नेपाल, पवनकुमार बुढाथोकी, अमर अधिकारी, दिव्य गिरी, राज रजक, गीता अर्याल, बद्री उप्रेती, भानुराज जोशी, सुभाषचन्द्र पौडेल भीमफेदीया, विमल भौकाजी,  राजेश खनाल शङ्कर भारती, डी. आर. राई, प्रकाश घायल, श्रीबाबु कार्की, राजनप्रसाद न्यौपाने, निर्मलरमण पराजुलीलगायतको उपस्थिति रहेको थियो।

नजिकिंदै गरेको नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा स्रष्टाका सिर्जनाहरू पनि वाचन गरिएका थियो।

प्रतिक्रिया दिनुहोस्: