– गङ्गा आचार्य सेढाई
१. मलामीको लर्कोले घेर्दा बुझ्छौ होला
जलिरहेको चिता हेर्दा बुझ्छौ होला
आज जिन्दगी हुँदा नबुझेको तिमीले,
भोलि मेरो अभावले बेर्दा बुझ्छौ होला ।
२. घाममा सुकाएको बिस्कुन जस्तो नसोच्नोस्
भाउ बढेको गहना र सुन जस्तो नसोच्नुस्
भूतै भएपनि करेसाकै काम आउन सक्छ,
पराइझैं नचिन्ने को र कुन् (?) जस्तो नसोच्नुस्
३. जाऊँ भन्दा पनि जान नपाइने भेला हुँदोरहेछ
खाऊँ भन्दा पनि खान नपाइने बेला हुँदोरहेछ
समय साथमा भएपनि शरीर ले साथ नदिएपछि,
साथी भाइहरूलाई पनि केही झमेला हुँदोरहेछ ।
४. खोते थाप्छन् नेताहरू विकासमा पूर्वाधार बनाएर
खन्छन् मुसाको दुलो धेरै समेट्नी आधार बनाएर
अरौटे र भरौटेको एउटै समस्या समाधान हो भन्दै,
स्वदेशी भूमि सुक्खा पारी विदेशी जलाधार बनाएर ।
५. आउँछ मायाको छाल छल्किन्छ र मनको किनार भर्छ
सत्ते ! त्यसबेला मलाई तिम्रै छेउमा मात्रै बस्न मन पर्छ
सानो निहुँमा पनि भाँचिन्छ र मन पिटिक्क लौरी भाँचिएझैं,
सानै सान्त्वनामा पनि बहकिन्छ, मनै त हो, के के गर्छ गर्छ ।
प्रतिक्रिया दिनुहोस्: