शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका  ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित

१९ आश्विन २०८३

काठमाडौँ, २०८३, असोज १८ गते आइतबार। तीन स्रष्टाहरुका अङ्ग्रेजी भाषामा लेखिएका तीन कृतिहरु लोकार्पण भयो ।

कार्यक्रममा तीन कृतिहरु ८ वर्षीय शुसाङ्क जैसीको ‘Creative Scribbles’, १४ वर्षीय शुक्ष्मयङ्का जैसीको ‘Phosphor’ र १९ वर्षीय शुक्ष्माङ्क जैसीको ‘Nesamaj’ लोकार्पण गरिएको हो।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल र स्रष्टात्रय लगायतले कृतिहरुको लोकार्पण गरे ।

कृतिहरुमाथि प्रमुख अतिथि वरिष्ठ बालसाहित्यकार एवं समालोचक प्रमोद प्रधानले एउटै बाबुआमाका छोराछोरीको एकै पटक कृतिहरु सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गरे । उनले संरचनाका हिसावले तीन पुस्तकहरु फरक फरक भएको बताउँदै भने, ‘कृतिहरु बाल मनोविज्ञानले भरिएको छ, तर्क गरिएको छ र फरक फरक महत्वपूर्ण विषयहरु उठान गरिएको छ । ‘Nesamaj ले तीन पात्र सिर्जना गरी तीन महत्वपूर्ण नदी र तिनका सभ्यतासँग जोडेर लेखिएको छ ।’

यसैगरी Phosphor जीवनका विभिन्न पलहरुको डायरी जस्तो लाग्छ । उमेर समूहका कुरा पनि त्यहाँ आएका छन् । अनुभूतिमा घोत्लिएर सिर्जना गरिएको छ । अर्को कृति ‘Creative Scribbles’, मा एउटा तीन कक्षामा पढ्ने बालबालिकाको लेखाई इमान्दार भएर आएको उनले बताए ।

उनले यस्ता सिर्जनशील प्रतिभाहरु जन्माएर त्यही खालको वातावरण निर्माण गरिदिने लेखकत्रयका पिता रामकृष्ण जैसी र माता मायालक्ष्मी हमाललाई सबैको तर्फबाट खादा ओढाएर सम्मान गरे ।

वक्ता नेपाल स्रष्टा समाजका अध्यक्ष‘रोदन’ले अहिलेका बालबालिका मोबाइलबिना केही गर्न नसक्ने उमेर समूहकै बालबालिकाबाट साहित्यमा अङ्ग्रेजी भाषामा कृतिहरु प्रकाशित हुनु आफैँमा ठूलो उपलब्धि भएको बताए ।’ यो लेखक बाबुनानीको निम्ति शिलालेख बनेको छ । निरन्तर लेख्नुहोस ।’ उनले भने ।

पुस्तकहरुमाथि चर्चा गर्दै माधव घिमिरे अटलले तीनै किताबमा बालमनोविज्ञान आएको बताए।
कृति Phosphor ले जीवनका विभिन्न सन्दर्भहरु पस्केको भन्दै आफ्नो उमेर समुह अनुरुप लेखाइ आएको बताए । ‘डायरी शैलीमा लेखिएको,प्रत्येक पार्टमा मिल्ने कुरा रुढीवादी परम्परा भत्काउँन खोजेको देख्दा एउटा बालभावमा पनि विद्रोही चेत रहेको छ । तीन कक्षामा पढ्ने बालकले आफ्नो ‘Creative Scribbles’ कृतिमा मनका भावनाहरु सहज, सरल र मजैसँग पोखेका छन्’ उनले भने । शुसाङ्कको ‘‘Nesamaj’’ ले भने देशको कोशी, गण्डकी र कर्णाली सभ्यताको विविधता र नेपाली समाजको यथार्थलाई प्रस्तुत गरेको उल्लेख गरे ।

कार्यक्रममा सिद्धार्थ वनस्थली स्कुलकी सहायक प्रधानाध्यापक सुनिता सिंहले लेखक बालबालिकाहरुको स्वभाव, लगाव लगायतका विषयमा आफ्नो धारणा राख्दै उनीहरु अत्यन्तै मिहिनेती, इमान्दार भएको बताइन् ।

लेखकत्रयको तर्फबाट शुक्ष्मयङ्का जैसीले आफ्नो हजुरआमाले सिकाइको भोक बाबामा जागृत गराइदिएको, पढ्नुपर्छ भन्ने भावना बुबाबाट आफुहरुमा सरेको भन्दै आफुहरुले हरेक कुराको निम्ति समय व्यवस्थापन गरी  सोही अनुरुप चलिरहेको र अब  पनि चल्ने बताइन् ।

प्रकाशन गृह भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरेका थिए  ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखेका थिए ।

जुम्ला, तातोपानी निवासी रामकृष्ण जैसी र मायालक्ष्मी हमालका तीन छोराछोरीका कृतिहरु जन्मोत्सवको उपहारस्वरुप आएको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस्: