विजयादशमीको हार्दिक शुभकामना !
२०८३ सालको दशैँ यो वर्ष पनि हाम्रो घर–आँगनमा आइसकेको छ । आश्विनशुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्मका १५ दिन रहने दशैँ यस वर्ष असोज २५ गतेबाट कात्तिक ९ गतेसम्म परेको छ । दशैँको मुख्य पर्व विजयादशमी हो । घटस्थापनाको दशौँ दिनमा पर्ने भएर पनि यसलाई दशमी भनिन्छ । नव रात्र देवी शक्तिका विभिन्न रूपको आराधना र उपासना गरेर शक्ति आर्जन गर्ने समय हो । रामायण अनुसार श्रीरामचन्द्रले रावण मारी लङ्का विजय गर्न देवीको व्रत, उपासना गरी यसै दशौँ दिन अर्थात् आविश्नशुक्ल दशमीको दिनमा शक्ति प्राप्त गरेकोले यस दिनलाई विजयादशमी भनिएको हो, भनिन्छ ।
दशैंको मुख्य सन्देश हामीभित्रको रहेको विषयको त्याग र चेतनाको जागरण हो । राम आत्मा हो । हामीभित्रका दश इन्द्रिय अर्थात् काम, क्रोध लोभ, मोहादि दश दुर्गुणहरूमाथि विजय प्राप्त गर्नु पनि विजयादशमीको उद्देश्य हो । दशैँको पूजा आराधना नै शक्तिको उपासना हो । दानवीय खराब आचरण र व्यवहारबाट समाजलाई मुक्त पार्दै मानवीय चेतना र उर्जाको ज्योति बाल्ने सत् व्यवहारको पर्व हो दशैं । दशैँ अर्थात् विजयादशमीले हामीलाई खराब कर्म र पापबाट बच्ने, बचाउने सन्देश दिएको छ । हो, विजयादशमीले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार, आलस्य, चोरी र हिंसा जस्ता खराब आचरण र व्यवहारबाट बच्ने प्रेरणा, ऊर्जा शक्ति दिन्छ, दिँदै आएको छ ।

रामरमिता, हाँसोखुशी, मेलमिलाप र धर्मकर्मका सत्य सन्देशहरूलाई प्रत्येक व्यक्तिमा पुर्याउनु पनि दशैँको मुख्य लक्ष्य रहेको छ, भन्नसकिन्छ ।
विजयादशमी अर्थात् दशैँ खराबमाथि असलको विजय, असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजयजस्ता प्रतीकात्मक सन्देश दिएर समाजलाई सकारात्मक बाटोतिर हिँडाउने एउटा महान्पर्व पनि हो । दशैँले मन, विचार र चित्तलाई उज्यालोतिर डोर्याउँछ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । यत्रो विद्वान र अति बलशाली रावणलाई आफ्नो घमण्ड र अहम्ले पतनको बाटोमा लग्यो । त्यति मात्र हैन अन्त्यमा ऊ मृत्युको अवस्थामा पुग्यो । आफूभित्रको यस्तै खराबी र अहंकारलाई त्याग्ने तत्परता हामीले विजयादशमीबाट सिक्नुपर्दछ ।
आफ्नो धर्म, संस्कृति, परम्परा मान्दै र मनाउँदै जानु र त्यसै अनुसार सद्व्यवहार गर्नु पनि दशैँ मनाउने एउटा कारण हो । आफूभित्र रहेको रिस, क्रोध, अहम्कार र घमण्डको त्याग गर्दै असल जीवन जिउन सिक्नु नै दशैँको महान् सन्देश हो । स्वस्थ, मस्त र बन्दोबस्तको दशैँ मनाउँन सिकौँ/सकौँ सबैमा हार्दिक शुभकामना छ ।
विजयादशमी तथा शुभदीपावली – २०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !


प्रतिक्रिया दिनुहोस्: