बडा दशैँको अवसरमा शुभकामना र सिर्जना वाचन कार्यक्रम

२४ आश्विन २०८३

काठमाडौँ, असोज २३ गते शुक्रबार । संसाक मासिकको आयोजना, कवि तारा के.सी.को संयोजन
र साहित्यकार/पत्रकार यशोदा अधिकारीको प्रायोजनमा बडा दशैँ विशेष शुभकामना र सिर्जना वाचन कार्यक्रमको आयोजना गरियो ।

गोँगबुँको धनेश्वरमा आयोजित शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन र सहजीकरण साहित्यकार/पत्रकार उमेश पाण्डेले गर्नभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालले हाम्रा यस्ता महान् चाडपर्वहरूमा स्रष्टाहरू भेला/जम्मा भएर यसरी सिर्जना प्रस्तुत गर्दा यसले चाडपर्वहरूको महत्व र गरिमा बढाउनुको साथै स्रष्टाका सिर्जनाहरूमा पनि निखार ल्याउने र स्रष्टाहरूको पहिचान बनाउन सहयोग पुर्‍याउने छ, भन्नुभयो । उहाँले हाम्रा चाडपर्वले दिने ऊर्जा र महत्त्व भनेकै हामीले पाउने शान्ति, आनन्द र खुशी हो, जुन आज हामीले पाइरहेका छौँ, भन्ने बताउनुभयो ।

कार्यक्रममा स्रष्टाहरू जे.पी.नेपाल, देवराज सिम्खडा, यशोदा अधिकारी, राजेन्द्र घिमिरे सागर, दीपक बानियाँ, तारा के.सी., राधादेवी पाण्डे, उत्तम विचार भेटुवाल, उमेश पाण्डे, पार्वती सिम्खडा र उमा थपलियाले शुभकामना मन्तव्यको साथै सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा शुभदीपावलीको अवसरमा पनि यसैगरी स्रष्टाहरू भेला/जम्मा भएर शुभकामना आदानप्रदान, सिर्जना वाचन र द्यौसी–भैलो गर्ने साहित्यकार यशोदा अधिकारीको प्रस्तावलाई सर्वसम्मत रूपमा सहस्र स्वीकार गर्दै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: