काठमाण्डौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित आगामी कात्तिक ८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने ’मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३’ को विस्तृत कार्यतालिका सार्वजनिक भएको छ ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्प अनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामहरू सहित आम नेपालीलाई एक सूत्रमा जोड्ने छ ।
‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देश विदेशसम्म पुर्याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै तीर्थस्थलहरूको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ’, मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए ।
रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनी उनको भनाई छ ।
आयोजकले सार्वजनिक गरेको कार्यतालिका अनुसार रथयात्रा प्रत्येक दिन बिहान ८ बजे सुरु भई बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ । निर्धारित मार्गमा पर्ने विभिन्न धार्मिक स्थल तथा तीर्थधाममा रथयात्रा पुग्ने भएकाले स्थानीय श्रद्धालु भक्तजनलाई दर्शन, पूजा–अर्चना तथा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
सार्वजनिक कार्यतालिका अनुसार रथयात्रा कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम, गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्री विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट, बागलुङ बजार, मालढुंगा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्री विश्राम गर्ने कार्यक्रम छ ।
कात्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलंकी, स्वयम्भू, बालाजु र चक्रपथ हुँदै गोल्फुटार स्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । त्यसैगरी कात्तिक ११ गते काठमाडौं नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्री विश्राम गर्ने कार्यतालिका छ ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली, भीमान, कटारी, गाईघाट र वराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्री विश्राम गर्नेछ ।
कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला, किल्किले, लालमखोला, माईधार, बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काकडभिट्टा हुँदै श्रीयोगिराज कमलनयनाचार्य आश्रम, माईधारमा रात्री विश्राम गर्नेछ ।
कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्री विश्राम गर्ने कार्यक्रम छ ।
कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बडहरी, लालबन्दी, बर्दिवास, लालबन्दी, नवलपुर, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ । कात्तिक १९ गते सिमरा, पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्री विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।
कात्तिक २० गते हेटौँडाबाट मनहरी, बसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।
कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, भेडाबारी, फुलवास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्री विश्राम गर्ने कार्यतालिका छ ।
कात्तिक २२ गते बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्री विश्राम गरिनेछ ।
कात्तिक २४ गते नेपालगञ्जबाट टिकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।
कात्तिक २६ गते महेन्द्रनगर, भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्री विश्राम गरिनेछ ।
कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्री विश्राम गरिनेछ ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ ।
श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुनेछ ।


प्रतिक्रिया दिनुहोस्: