ललितपुर, २०८३ कार्तिक २८ गते शनिबार । नेपाल हाइकु सङ्घ केन्द्रीय समितिले राष्ट्रिय हाइकु वाचन शृङ्खला–१ सुरु गरेको छ। शृङ्खलाको पहिलो कार्यक्रम ललितपुरको चापागाउँ दोबाटोस्थित ‘ॐ समाज डेन्टल हस्पिटल’को सभाहलमा सम्पन्न भएको हो।
प्रमुख अतिथि, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा हाइकु कवि मोहन दुवालले ब्यानर वाचन गरेर ‘राष्ट्रिय हाइकु वाचन’ शृङ्खला -१ को समुद्घाटन गर्नुभयो । नेपाली हाइकु कविता लेखनमा विशेष योगदान गर्नुभएका वरिष्ठ कवि तथा नेपाल सरकारका पूर्वराजदूत डा.दुबसु क्षेत्रीलाई ‘हाइकु सम्मान-२०८०’ समर्पण गरियो। उहाँले सम्मान ग्रहण गर्दै हाइकु लेखनका स्थापित सिद्धान्तलाई नेपाली हाइकु कविहरूले पूर्ण रूपमा आत्मसात् गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । सम्मानित व्यक्तित्व क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै
जापानमा साहित्यलाई उच्च महत्त्वका साथ हेरिने गरेको आफ्नो अनुभव सुनाउँदै नेपाली हाइकुको आफ्नै परिवेश र विशेषता रहेकाले जापानी र नेपाली हाइकु कविताको तुलना सीधा गर्न नसकिने बताउनुभयो ।
विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्दै हाइकु कवितालाई शास्त्रीय सिद्धान्तका आधारमा मात्रै हेर्न नहुने बताउनुभयो ।
विशेष अतिथिहरू नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य डा.कौशिला रिसाल, पूर्व प्राज्ञसभा सदस्य तथा कवि राम विनयले हाइकु वाचन र प्रा. दिनेश चापागाईं ‘गोधूलि’ले मन्तव्यसहित हाइकु वाचन गर्नुभयो। गोधूलिले कलामार्फत हाइकु प्रस्तुत गर्ने आफ्नो अभ्यासबारे अनुभव सुनाउनुभयो । नेपाली र जापानी हाइकुलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्यले आफूले विभिन्न देशमा हाइकु कला प्रदर्शनी गरेको समेत बताउनुभयो ।

कार्यक्रमका अतिथि वक्ता, त्रिविका अध्यापक तथा समालोचक डा. विनोद मन्जनले वाचित हाइकुमाथि समीक्षा गर्दै हाइकु लेखनका सैद्धान्तिक पक्षको विवेचनासहित नेपालमा लेखिएका हाइकु कविताको सिर्जना र शिल्पपक्षमा परिमार्जन गर्नुपर्ने ओैल्याउनुभयो।
कार्यक्रमका अतिथि झ्याउरे कविता पुनर्जागरण अभियानका संयोजक तथा हाइकु कवि रेणुका भट्टराई मञ्जरीले विस २०५० को दशकदेखि नेपाली हाइकु लेखनको विकास र गतिविधिका बारेमा समीक्षा गर्नुभयो। यसैगरी अतिथि ,नागार्जुन वाङ्मयका अध्यक्ष तथा हाइकु कवि दिल पौडेलले हाइकु बारे आफ्नो दृष्टिकोण राख्दै हाइकुसमेत वाचन गर्नुभयो । ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सव डा.सुवास घिमिरेले शुभकामना मनतव्यसहित आगामी कार्यक्रममा आफूले पनि हाइकु वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक तथा कवि भीम कुमाखीले हाइकु वाचनसहित मनतव्य राख्नुभयो । यसैगरी नेपाल सरकारका पूर्व राजदूत तथा हाइकु कवि भीम उदास, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य सचिव देवेन्द्र थुम्केली, ॐ समाज डेन्टलका इन्चार्ज कुसुम, समाजसेवी रविन गुरुङ, हाइकु कवि शरद शोभा, राजुराज देव बज्राचार्य, किरण शाक्य, राजेन्द्र सुवेदी, डा.अनूप श्रेष्ठाचार्य, हिमानी आचार्य र चन्द्रमान माली लगायतको उपस्थिति रह्यो ।
राष्ट्रिय हाइकु वाचन शृङ्खला -१मा नेवा: हाइकु ख्य:का अध्यक्ष सुरेश प्रधानले नेपाल भाषाको हाइकु लेखनपरम्परा बारे चर्चा गर्दै नेपाल भाषामा रचित हाइकु वाचन गर्नुभयो। यसैगरी,अतिथि हाइकु कविहरू कृष्णभक्त बोडे, सुधीर ख्वबि, पूर्णिमा शाक्य, धर्मकृष्ण सिकर्मी, शाक्य सुरेन र विजयरत्न तुलाधर लगायतले नेपाल भाषामा हाइकु वाचन गर्नुभयो।अर्का अतिथि हाइकु कवि गणेश राईले वाम्बुले राई भाषामा हाइकु वाचन गर्नुभयो । यस्तै अतिथि हाइकु कविहरू गोपाल सञ्जेल, जुमन किरण, समाश्री, वशिष्ठ अधिकारी, नवराज सञ्जेल, राजाराम राउत, सन्तोष सिम्खडा, बैरागी जेठा, भोला ढकाल, मनोज शर्मा, सृजना सरोवर र दिनेश खरेल लगायतले नेपाली भाषामा हाइकु वाचन गर्नुभयो । यसरी ‘राष्ट्रिय हाइकु वाचन’को पहिलो शृङ्खलालाई आयोजकले बहुभाषिक बनाउने प्रयत्न गर्नु आफैँमा महत्त्वपूर्ण देखिन्छ।
नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमलाले राष्ट्रिय हाइकु वाचन शृङ्खलाको सुरुवातसँगै नेपाली हाइकु सिर्जना, वाचन, समीक्षा र विधागत बहसलाई निरन्तरता दिने बताउँदै आफ्नो हाइकुसमेत वाचन गर्नुभयो ।
सङ्घका महासचिव पुष्करराज बुढाथोकी साउँतेलीले स्वागत मनतव्य तथा कार्यक्रमकाे उद्घाेषण सङ्घका केन्द्रीय सदस्य तथा हाइकु कवि हाेमशङ्कर बास्ताेलाले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्: