(१) न छेक्न सकियो न भुल्न सकियो बडा दशैं आयो
घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैं आयो
नहुने सधैं रित्ता छन् उधारो खुशी हो, दुःखीको
हुने कै त छ ठाँटबाँट गज्जब तगडा दशै आयो ।
(२) रातो अक्षतामा निरहको रगत नहोस्
दिगो कामना शान्तिको फगत् नहोस्
राष्ट्रिय पर्व, पावन क्षण, उल्लास र हर्ष
दशैँ मान्दा दशाको लामो लगत नहोस् ।
(३) दुःख पीडा भुलेर नि रमाउनु है यो दशैंमा
रातो माटो कमेरोले घर सजाउनु है यो दशैंमा
नव दुर्गाले रक्षा गरून् खुसी छाओस् सबैमा
कामना छ केही विशेष बनाउनु है यो दशैंमा ।
४) शुख, शान्ति बनी आऊन् घरघरमा बडा दशैं
मनाउन सबले पाऊन् घरघरमा बडा दशैं
शुभकामना धेरैधेरै सबैसबै नेपालीलाई
खुशीयाली उत्सव छाऊन् घरघरमा बडा दशैं ।
(५) धनी, गरीब सबैको मनमा आऊ बडा दशैं
दुःखी, सुखी सबैको मनमा छाऊ बडा दशैं
तिम्रै आगमनमा गल्लीगल्ली पर्खिँदैछ
सबैको घरघर हल्लीखल्ली धाऊ बडा दशैं ।
तारकेश्वर-११, मनमैजु, काठमाडौँ
प्रतिक्रिया दिनुहोस्: