२०८१/१०/२७, काठमाडौं । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले २०८१ फागुन १७ गते शनिबारका दिन बृहत् साहित्यिक उत्सव तथा सम्मानको आयोजना गर्ने भएको छ ।
साहित्यिक उत्सव प्रतिष्ठानले दक्षिणकाली नगरपालिका वडा नं ४, बाँसबारीमा अवस्थित चम्पादेवी हिल साइड रिसोर्टमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । उत्सव सफल बनाउन सहभागी भइदिनुहुन सम्पूर्ण साहित्यकारहरुलाई प्रतिष्ठानले यसै विज्ञप्तिबाट अनुरोध पनि गरेको छ ।
बृहत् साहित्यिक उत्सवको कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली, फर्पिङले दीर्घकाल साहित्यिक पत्रकारितामा योगदान पुर्याउने तथा साहित्य सेवा गर्ने स्रष्टाहरुलाई विभिन्न सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।
यस कार्यक्रममा ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, ‘सुसेली कविता सम्मान–२०८१’ कवि तुलसी दिवस र ‘सुसेली आख्यान सम्मान–२०८१’ कथाकार माया ठकुरीलाई समर्पण गर्ने भएको छ ।
सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीको संयोजनमा गठित डा. शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेलको त्रिसदस्यीय समितिले गरेको हो ।
सम्मानित स्रष्टालाई २०८१ फागुन १७ गते शनिबार नगदसहित सम्मान समर्पण गरिने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस्: