साहित्यिक पत्रकार संघद्वारा धामी र ज्ञवालीको दुई पुस्तक लोकार्पित

६ मंसिर २०८२

काठमाडौं, २०८२ मङ्सिर ४ गते । साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयाेजित कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को लोकार्पण सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोह साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमबारे विशेष जानकारी दिंदै सभापति लेकालीले आमन्त्रित अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशनसिंह धामीको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथि विष्णुविभू घिमिरेले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा समालोचक डा. हिरण्यलाल ज्ञवालीले लेख्नु भएको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’बारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै ज्ञवालीले कृतिका माध्यमबाट किशनसिंह धामीको कवितायात्राबारे प्रकाश पार्नुभएको बताउनुभयो ।

कवि किशनसिंह धामीको कविताकृति “सम्बोधनमा छोरी” बारे वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक मन्तव्य राख्दै छोरी हुनेहरू सबैले कृति एकपटक पढ्नैपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि विष्णुविभू घिमिरेले लेखक र कविद्वयप्रति शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा समयान्तर हिसाबले विभिन्न विधाले फड्काे मार्दै तीव्रगतिले अघि बढिरहेकाेमा प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा विशेष अतिथिहहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, समालोचक डा. हिरण्यलाल ज्ञवाली लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

कवि सन्ध्या पहाडीले कवि धामीको लोकार्पित कृति “सम्बोधनमा छोरी” कृतिबाट कविता वाचन गर्नुभएको सो कार्यक्रमको संचालन साहित्यकार मुरारी सिग्देलले गर्नुभएको थियो ।

कार्यक्रममा तारा-किशन फाउन्डेसन, न्यूयोर्क, अमेरिकाको सहकार्य रहेको थियो । कार्यक्रममा प्रा. डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, शंकर भारती, गोपीकृष्ण ढुंगाना, यशोदा अधिकारी, तुलसीहरि कोइराला, गणेश घिमिरे (अस्ट्रेलिया), डा. काशीराज पाण्डे, प्रदीप सापकोटा, ध्रुवराज पुरुष, नीता श्रेष्ठ, उषा के. सी., रितु कँडेल, रमेश दाहाल, टीकाराम आचार्य, विशाल पहाडी, डा. बोधराज पौडेल, डिल्लीरमण सुवेदी, जीवनकुमार श्रेष्ठ, कपिल ज्ञवाली, रामसिंह विष्ट, बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: