मधुको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित

३ आश्विन २०८३

२०८३, असोज २ गते,  काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नविनतम् कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित भएको छ ।

नेपाल स्रष्टा समाजद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, डा.नवराज लम्साल, पवन आलोक, डा.ज्ञानु अधिकारी र कवि पाठक लगायतले उक्त कृति लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले विचार, भावना र अनुभूतिले मात्र सुन्दर कविता जन्मिने बताउनुभयो । राम्रा कविता वेदका मन्त्र जस्ता हुने भन्दै उहाँले पाठकको मस्तिष्क र ह्रृदयले काम पाएमात्र कविता राम्रा हुने कुरामा जोड दिनुभयो । ‘समकालीन कवितामा कवि पाठकको उपस्थिति संवेदना, प्रेम, करुणा, मातृत्व, अनुभूति लगायतका पक्षहरूमा रहेको छ । धेरैजसो कविताहरू अनुभुतिपरक र संवेदनात्मक रहेका छन् ।’ उहाँले भन्नुभयो।

कृतिमाथि चर्चा गर्दै कवि डा. नवराज लम्सालले कविता लेख्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले  विचारको अभिव्यक्ति कविता भएको भन्दै अनुभूतिलाई बिम्ब मार्फत बाहिर पठाउने क्षमता कविमा हुने बताउनुभयो । डा.लम्सालको ठोकुवा थियो, ‘ आजका कविता कमजोर छैनन् ।’ मधुका कविताहरू बलशाली बनेर आएको भन्दै उहाँलेअगाडि भन्नुभयो,  ‘मधुका कविताको हरेक हरफमा अलग कविता छ । संरचना, विषय, संगठन, अनुभूतिका हिसावले उनका कविता सुन्दर छन् । ‘ डा.लम्सालले नेपाली साहित्यमा देखिएका विकृतिहरूको बारेमा समेत चर्चा गर्नुभयो ।

डा. ज्ञानु अधिकारीले कवि पाठकका कविताले पाठकलाई सोचनीय बनाउँछ, संवेदित बनाएर सहभाव र समभावमा पुर्याउँछ, मधुका कविताले समाजको आत्माको आवाज बोलेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मधुले प्राकृतिक बिम्बद्वारा अमूर्त भावमा कविता सृजना गरेका छन् । उनका कविताका शीर्षक नयाँ नभएपनि दृष्टिकोण नयाँ छन्, अनुभूतिपरक छन् । कविले कवितामा आत्मप्रकाशन गरेका छन् ।’ मधुका कविताभित्र प्रेम, संवेदना प्रचुर रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा पवन आलोक,ऋषभदेव घिमिरेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कवि पाठकले भने आफ्ना अनुभुतिहरू साझा गरे ।

कार्यक्रमका  सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले  मधु पाठकको कविता कृतिको लोकार्पणको अवसरमा नेपाली कविता र साहित्यमाथि सुन्दर बहस भएको छ । कालान्तरमा यो नेपाली साहित्यको लागि महत्वपूर्ण कुरा हुने बताउनुभयो । उहाँले आज नेपाली साहित्यमा विषद् परिचर्चा भएको कुरामा जोड दिनुभयो । ‘सबै इतिहासलाई वर्तमान बनाएर वर्तमानमाथि अन्याय गर्न मिल्दैन । इतिहास इतिहासकै रूपमा सम्मानित भएर रहनुपर्छ ।’ उहाँले अगाडि भन्नुभयो । श्रेष्ठले मधु पाठकका कविताहरू समकालीन कवितामा सुन्दर रहेको पनि बताउनुभयो  ।
कार्यक्रममा कवि सुष्मा आचार्य अंशु, मणि लोहनी र ठाकुर बेलबासेले अग्नि- आलापभित्रका कविता वाचन गरे ।
नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राख्नुभेको थियो ।

कृतिलाई नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्: