विद्यार्थीहरूसँग साहित्यकार : विमर्श र साक्षात्कार

७ पुष २०८२

नुवाकोट (थानसिङ), पौष ४ गते शुक्रबार । ‘विद्यार्थीहरूसँग साहित्यकार : विमर्श र साक्षात्कार’ कार्यक्रम अन्तर्गत ज्योतिकुञ्ज एकेडेमीको आयोजना र संसाक मासिकको संयोजनमा ज्योतिकुञ्ज एकेडेमीका विद्यार्थीहरूसँग विमर्श र साक्षात्कार गरिएको छ । विद्यार्थीहरूसँगको विमर्शपछि ‘सिर्जना सुन्ने र सुनाउने’ कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

साहित्यकारहरू डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामोदर पुडासैनी किशोर, आख्यानकार अञ्जना पौडल खनाल, कवि दिनेश पाण्डे, कवि/गीतकार प्रेम राई परीक्षित, कवि तारा के.सी. र कवि पार्वती पुडासैनीले विद्यार्थीहरूसँगको साक्षात्कारमा साहित्य र जीवनका विविध विषय र पाटाहरूमा छलफल र विमर्श गर्नुभएको थियो । त्यस अवसरमा साहित्यकारहरूले विद्यार्थी भाइबहिनीहरूका विभिन्न जिज्ञासाहरूको समाधान खोज्ने र प्रश्नहरूको उत्तर दिने काम गर्नुभएको थियो ।

साक्षात्कार र विमर्शपछि विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोलको सभापतित्व र डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा सिर्जना सुन्ने र सुनाउने कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू, शिक्षक, विद्यार्थी, कर्मचारी, पूर्वविद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालले आमाबाबुले छोराछोरी जन्माउने, हुर्काकाउने गरे पनि साँचो अर्थमा बालबालिकाहरूलाई ज्ञान, विवेक र व्यवहारको कसीमा खारेर नयाँ र सुन्दर जीवन दिने काम विद्यालय र त्यसमा काम गर्ने गुरु, गुरुमाहरूको हो, भन्नुहुँदै विद्यार्थीहरूलाई ज्ञानी र व्यवहारिक बनाउन साहित्यको ठूलो भूमिका हुने कुरासमेत बताउनुभयो । उहाँले पढाइ पहिलो कुरा हो, तर पढाइका अतिरिक्त जीवनलाई चलायमान, परिचित र सफल बनाउन कला, साहित्य, खेलकुद र विचार–विमर्शहरू मुख्य कुरा हुन्, भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि सिर्जनाका टाकुरा डा.दामोदर पुडासैनी किशोरले जापान, युरोप, अमेरिकामा भने साहित्यकारहरूको ठूलो सम्मान हुने तर नेपालमा त्यो अवस्था नरहेको बताउँदै उनीहरू ससाना बालबालिकाहरूलाई साहित्यकारहरूसँग साक्षात्कार गराउने, प्रकृतिका सुन्दर स्थानहरूमा घुमाउने, स्थलगत कथा, कविता लेख्न लगाउने गर्छन्, भन्नुभयो । उहाँले कला, साहित्य र खेलकुदमा अब्बल विद्यार्थी नै पढाइमा पनि उत्कृष्ट हुने दृष्टान्तहरू सुनाउनुभयो ।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल रविन्द्र डंगोलले विद्यालयले साहित्य र साहित्यकारहरूलाई सधैं सम्मान र उच्चस्थान प्रदान गर्दै आएको र आउँदा दिनहरूमा पनि यो क्रमलाई निरन्तरता दिने बताउनुभयो । प्रिन्सिफल डंगोलले यसअघि धेरै पत्रपत्रिका र सञ्चारमाध्यहरूमा साहित्य र कलाका विषयमा सहकार्य गर्दै आएको तर त्यति प्रभावकारी हुननसकेकोमा संसाकले भने आफूले चाहेको जस्तो प्रस्ताव लिएर आएको र त्यसै अनुसार कार्यक्रम गरेकोमा खुशी लागेको छ, भन्नुभयो । उहाँले यो विद्यालय नुवाकोटका उत्कृष्ट केही भित्र पर्ने र लिखु गाउँपालिकामा भने पहिलो नम्बरमा रहेको पनि बताउनुभयो ।

त्यस अवसरमा आख्यानकार अञ्जना पौडल खनाल, कवि दिनेश पाण्डे, कवि/गीतकार प्रेम राई परीक्षित, कवि तारा के.सी. र कवि पार्वती पुडासैनीले कविता, गीत, मुक्तक, हाइकु वाचन गर्नुभएको थियो । त्यसैगरी विद्यार्थीहरू दिपेश पाठक, सुप्रिम पाठक, रेस्मा सिलवाल, कुसुम बस्याल लगायतले पनि आआफ्ना कविताहरू सुनाएका थिए ।

शिक्षिकाहरू शान्ता नेपाल र हिरा भट्टले खादा, मालाले अतिथिहरूको स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक शिवराम पुडासैनीले गर्नुभएको थियो भने संसाकका सम्पादक/प्रकाशक उमेश पाण्डेले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: