प्रकृति पाठशालामा साहित्यिक अन्तरक्रिया

४ भाद्र २०८३

काठमाडौं, साउन २५ गते सोमबार । टोखा–३, स्टार टाउन, ढलमल, काठमाडौं स्थित प्रकृति पाठशालाले ‘शब्दमा संवेदना, विचारमा विमर्श र साहित्यमा समृद्धि’ भन्ने नाराका साथ विद्वान् साहित्यकारहरूकाबिच साहित्यिक अन्तरक्रियाको आयोजना गरेको छ । कार्यक्रममा विचार र विमर्श, अभिव्यक्ति र संवाद, साहित्य र सहभागिता, ज्ञान–सिप र संस्कार आदि विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपालले हाम्रा हरेक बोली, व्यवहार र शैली साहित्यका माध्यम हुन् । यिनलाई हामी कसरी प्रयोग गर्छौं, तिनले हाम्रो साहित्यलाई सुन्दर, मिठास र अझ ज्ञानवर्द्द्क बनाउँछन्, भन्नुभयो । डा.नेपालले हाम्रा हरेक कर्ममा कला लुकेका हुन्छन्, कलाको सुन्दर प्रस्तुति नै साहित्य हो, सिर्जना हो, भन्नुहुँदै साहित्यमा निरन्तरता र अभ्यासले नै सर्जकलाई सफल बनाउँछ, भन्नुभयो । भद्दा र अप्ठेरा शब्दलेभन्दा बोलीचालीका सरल शब्दले सिर्जना उत्कृष्ट बन्ने हुन्, डा.नेपालले बताउनुभयो ।

साहित्यिक विमर्शमा डा.अम्बिका अर्यालले एउटा असल र अब्बल सर्जक बन्नको लागि हरेक व्यक्तिमा समयको निर्धारण, प्रतिबद्धता र अभ्यासको आजश्यकता पर्छ, त्यसको लागि आजैदेखि अहिलेबाटै हामी अध्ययन र लेखनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले समय धेरै चाहिँदैन, अभ्यास बढी पनि हैन तर सही विषयको छनोट गरेर त्यसलाई निरन्तरता दिनसक्यौँ भने हाम्रा साहित्यिक सिर्जना बिस्तारै परिस्कृत र सुन्दर हुँदै जाने र अभ्यासले हामीलाई महान् सर्जकको रूपमा उभ्याउने छ, भन्ने बताउनुभयो । अल्छ्याइँ र ढिलासुस्तीले हामीलाई सफल नबनाउने र सुखद् भविष्यको आशा पनि गर्न नसकिने डा.अर्यालको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश बुढाथोकीले आजको विचार, विमर्श, संवाद र सहभागिताले सहभागी विद्यार्थीहरूमा केही नयाँ कुराको ज्ञान पक्कै भएको हुनुपर्छ र आउँदा दिनहरूमा केही मात्रामा भए पनि साहित्यप्रतिको रुचि बढेको अवश्य देखिने छ, भन्नुभयो ।

विमर्शको यस कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल र डा.अम्बिका अर्यालले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई र कवि/बाल साहित्यकार सविना सिन्धुले कक्षा १ देखि ४ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई साहित्य अध्ययन, लेखन र वाचनको आवश्यकता, महत्व र प्रभावका विविध पक्षका बारेमा छलफल, विमर्श र संवाद गर्नुभएको थियो ।

साहित्यिक विमर्श कार्यक्रममा विद्यार्थी भाइबहिनीहरू सरगम थापा, एरिन अर्याल, मिनास राना मगर, श्रेया पण्डित, बिबिसा बोहरा, परिधि यादव, पृथ्वी अर्याल, अरविन, नम्रता थापा र अदिश्री भट्ट आदिले भने विभिन्न प्रश्न, सवालजवाफ, विमर्शको साथै आआफ्ना विचार, मन्तव्य र सिर्जना पनि वाचन गरेका थिए ।

शिक्षिका अन्जु तामाङको संयोजनमा भएको कार्यक्रमलाई शिक्षिका आकृति भट्ट र सरला ढकाल, शिक्षक सुशिल थापाले पनि व्यवस्थापकीय सहयोग पुर्‍याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: