२०८३ कात्तिक १५ , काठमाडौं । नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा ‘उन्नती बोहरा शीला गीत पुरस्कार मञ्च’को आयोजनामा ‘फर्की आऊ शान्ति तिमी उन्नती शीला सङ्गीत समर्पण साँझ–२०८३’ भव्य कार्यक्रमको आयोजना गर्र्यो ।
विगत ६ दशकदेखि नेपाली साहित्य र सङ्गीत आकाशलाई आफ्ना मर्मस्पर्शी शब्दहरूद्वारा सिञ्चित गर्दै आउनुभएकी वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’ को ६० वर्षे साहित्यिक यात्राको अवसरमा आयोजित सो कार्यक्रममा सङ्गीत रत्न शम्भूजीत बासकोटालाई नगद राशि एकलाख एकाउन्न हजारसहित अभिनन्दन गरियो ।
सोही कार्यक्रममा विभिन्न संस्थाहरूले गीतकार शीलालाई सामूहिक बधाईपत्र प्रदान गरेको थियो । बधाईपत्र प्रदान गर्ने संस्थाहरुमा साहित्यिक पत्रकार संघ, गुन्जन नारी साहित्य संस्था, शंकर लामिछाने प्रतिष्ठान, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, रमाकृष्ण सिर्जना प्रतिष्ठान, नानी साहित्य प्रतिष्ठान, प्रमोदराज पाण्डे-सावित्री पाण्डे स्मृति प्रतिष्ठान, भद्रकुमारी घले सेवा सदन तथा मानचित्र पब्लिकेशन प्रा. लि., वनिता साहित्यिक पत्रिका र दोभान साहित्यिक पत्रिका रहेका थिए ।

वरिष्ठ गीतकार प्राज्ञ उन्नती शीलाको रचनामा रहेका गीतहरू नेपालका चर्चित गायक गायिकाहरूले प्रत्यक्ष प्रस्तुति दिनुभएको थियो ।
उन्नती शीला सङ्गीत समर्पण साँझमा प्रत्यक्ष वाद्यवादनसहित मीरा राणा, प्रमोद खरेल, कर्णदास, आनन्द कार्की, जगदीश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, सङ्गीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य र सरिता शाहीलगायत गायक–गायिकाले शीकाका गीत प्रस्तुत गर्नुभएको थियो ।
छ दशकदेखि साहित्य र सङ्गीतमा निरन्तर सक्रिय शीलाका सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गरिएको
हो ।
प्रस्तुत गीतमा शम्भूजीत बास्कोटा र दीपक जङ्गमको सङ्गीत रहेको छ । ‘जननी जन्मभूमिश्च’, ‘कहीँ कतै लडखडाए भने’, ‘फर्काइदेऊ मेरा प्रेमपत्रहरू’, ‘बाँध बाँध मलाई मायाले बाँध’, ‘भुल भयो मबाट’, ‘यति गहिरो चोट’, ‘सेती खोला सँगसँगै तरौँला’, ‘डाँडाकाँडा ढकमक ढाकी’, ‘ए नील गगनमा उड्ने पन्छी’, ‘गुराँसको रङ रातो’ लगायतका गीत विभिन्न गायकगायिकाले प्रस्तुत गर्नुभएको थियो ।

२१ जना वाद्यवादकलाई वरिष्ठ सङ्गीतकार तथा सङ्गीत संयोजक मनोहर सुनामले सञ्चालन गर्नुभएको थियो ।
मुन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको अध्यक्षता मन्चकी अध्यक्ष प्राज्ञ उन्नती बोहरा शीलाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि काइँला र अभिनन्दित सङ्गीत रत्न शम्भूजीत बासकोटाले विशेष सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार शीलाले आफूले जीवन नै गीत सिर्जना र साहित्यमा समर्पण गरेको बताउनु भयो । दर्शकको उपस्थितिले सिर्जनाको उचाइ अझ बढाएको उल्लेख गर्दै उहाँले यो एकल साँझ श्रीमान् दीपक बोहरा र छोरी चाँदनी बोहराप्रति समर्पित रहेको बताउनुभयो ।

कार्यक्रममा गायिका तथा सङ्गीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, चलचित्र सम्पादक नरेन्द्र खड्का, वरिष्ठ गायक कर्ण दास, कलापत्रकार राजाराम फुयाल र डब्बु क्षेत्री, सङ्गीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही तथा नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
सङ्गीतकार दीपक जङ्गम, गीतकार राजेन्द्र थापा र श्रीपुरुष ढकाल, अभिनेता नीर शाह, अभिनेत्री वसुन्धरा भुसाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष तथा उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चका संरक्षक राधेश्याम लेकाली, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, वरिष्ठ गायिका देविका बन्दना र विमला राई, वरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र निर्माता प्रदीप उदय लगायत कला, साहित्य, राजनीति र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण पत्रकार हेम सुवेदी र सेसेमी लिम्बूले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: