तिहारको हार्दिक शुभकामना !
हिन्दूहरूको महान्चाड यमपञ्चक अर्थात् तिहार हाम्रो घरआँगनमा आइसकेको छ । काग तिहारबाट भाइटीकासम्म मनाइने पर्व तिहार हो । यस वर्ष तिहार कात्तिक २१ गते शनिबारबाट सुरु भएको छ । यस वर्षको भाइटीका २५ गते बुधबार परेको छ । तिहारको रमाइला पक्ष भनेका घरघरमा लक्ष्मीको पूजा गर्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, झिलिमिली बत्ती बाल्ने, दाजुभाइलाई तेल हाल्ने र टीका लगाउने हो । तिहारलाई बत्ती वा दीपावलीको पर्व पनि भनिन्छ । पुराण अनुसार यमराज कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन बहिनी यमुना कहाँ गई बसेकोले यही समयलाई यमपञ्चक अर्थात् तिहार भनिएको हो । यसै बेलादेखि दीपावली र तिहार मनाउन थालिएको हो भन्ने गरिन्छ ।
तिहारको पाँच दिन क्रमशः काग, कुकुर, लक्ष्मी, गाई, गोवद्र्धको पूजा हुन्छ । गोवद्र्धनपूजाको दिन नेवारी समुदायले शरीरको पूजा अर्थात् म्हः पूजा गर्छन् । यस दिन देउसीभैलो पनि खेलिन्छ । त्यसैगरी तिहारको चौथो दिन अर्थात् कार्तिकशुक्ल प्रतिपदाको दिनमा गोवद्र्धनको साथै गोरुको पनि पूजा गरिन्छ । तिहारको पाँचौं दिन भाइलाई तेल हाल्ने र टीका लगाउने गरिन्छ । यसरी तिहारका पाँचदिनमा पाँच किसिमका पूजाआजाका साथ विभिन्न उत्सवहरू गरेर तिहार मनाइन्छ । तिहारलाई झिलिमिली र उज्यालो पर्वको रूपमा पनि लिनेगरिन्छ ।
कागले सबै प्रकारका सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । कुकुरलाई स्वामीभक्त र इमानदार जन्तु मानिन्छ र घरपरिवार र हाम्रो सुरक्षा गरेबापत कुकुरको पूजा गरिन्छ । गाईको दूध, दही, मोही, नौनी, घ्यु, गहुँत आदिको सेवनबाट हुने फाइदाको कारण लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लक्ष्मीमाताको पूजा गरिन्छ । गोरुले कृषि कर्म र अन्य व्यवसायमा पुर्याएको योगदानको कदरस्वरूप गोरुको पूजा गरिन्छ । भाइटीकाले दिदीबहिनी र दाजुभाइका बीच प्रेम, सद्भावना र निकट सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउँछ भन्ने विश्वास गरिन्छ । यस दिन दिदीबहिनीहरूले यमराज, सूर्य र अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने गर्दछन् । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्दै यमराजको आह्वान पनि गरिन्छ । दाजुभाइको जीवन बलियो, निरोगी, सुन्दर, दीर्घायु बनाउन भाइटीकाको पूजामा बिमिरो, ओखर, तिलको तेल, मखमलीको माला, दूबो आदिको प्रयोग गरिन्छ । यी वस्तुहरूले दाजुभाइको जीवन बिमिरोजस्तै बलियो, ओखरजस्तै कडा, तेलजस्तै चिल्लो, मखमलीजस्तै ताजा, दूवोजस्तै मौलाइरहोस् भन्ने कामना गरिन्छ ।
तिहार प्रकृति, मानव, जनावर, पशुपन्छी र जीवजन्तुको पूजा हो । आपसी प्रेम, सद्भाव र ममताको पूजा हो । तिहार हर्ष, उल्लास, मोजमस्ति र रमझमको प्रतीक हो । समग्रमा सुख, शान्ति र आनन्दको पूजा हो । तिहार महान् पर्व हो, ठूलो चाड हो ।
शुभदीपावली, नेपाल संवत्, म्हपूजा, छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्: