२०८३, काठमाडौं, साउन ३१ गते आइतबार । छोराको शोकमा राधादेवी पाण्डेद्वारा लिखित शोककाव्य ‘सशांक’ एक कार्यक्रमकाबिच लोकार्पित भएको छ ।
शम्भुप्रसाद पाण्डेको सभापतित्व, समाजसेवी बाबुकाजि पाठको प्रमुख आतिथ्य र आयुर्वेदाचार्य डा.सत्यराज थपलिया, साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल र डा.दामोदर पुडासैनी किशोर, विश्वहिन्दु महासङ्घका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारी, डा. अम्बिका अर्यालको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा गोविन्द प्रसाद पाठकले उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस अवसरमा समाजसेवी एवं साहित्यकारहरूले पुत्रको सम्झनामा आमा राधा देवी पाण्डेले लेख्नुभएको शोककाव्य ‘सशांक’ लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना दिँदै विश्वहिन्दु महासङ्घका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारीले जन्म र मरण निरन्तरको प्रक्रिया हो, जीवनमा खुसी र शोक बारम्बार आइरहन्छ, कसरी ग्रहण गर्ने व्यक्तिमा निर्भर रहने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ‘राधादेवी यो शोककाव्य एक अमर कृतिका रूपमा साहित्य जगत्मा रहने छ ।’

हामी नबुझेर शरीरलाई जीवन भन्छौँ, तर म भनेको शरीर हैन, म भनेको आत्मा हो, भन्नुहुँदै डा.सत्यराज थपलियाले आत्मा अजर छ, अमर छ, कुनै कुराले पनि नाश गर्न सक्दैन, त्यसकारण हामी नबुझेर वियोगको शोक गर्दछौँ भन्नुभयो । उहाँले जीव मर्ने हैन चोला फेर्ने हो, यो पाञ्चभौतिक तत्त्वले बनेको शरीर फेरि तिनै पाँच तत्त्वमा गएर मल्छि, भन्ने बताउनुभयो । पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोककाव्य आफ्नो हातमा पहिलोपटक परेको कुरा डा. थपलियाले बताउनुभएको थियो ।

कार्यक्रममा साहित्यकार डा.दामोदर पुडासैनीले जीवन कसैको अधीनमा छैन । जन्म, मृत्यु फरक फरक परिवेशमा हुन्छ, मृत्युलाई कसैले टार्न सकेको छैन, यो शाश्वत सत्य हो, भन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मृत्युको पीडा सहन गाह्रो हुन्छ, त्यही गाह्रोको आधारमा लेखिएको यो ‘सशांक’ शोककाव्यले छोरा सशांकलाई भने अमर बनाउने छ ।’

साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले हाम्रो जिन्दगीेको केही भरोसा छैन, हाम्रा दुई आँखाबाट आँसु र हाँसो निरन्तर बगिरहेका छन् भन्ने बताउँदै हामी अर्काको पीडा र व्यथामा यस्तै हो भन्दै सद्भाव र सहानुभूति त दिन्छौँ/दिनसकिन्छ तर पर्नेलाई कति पीडा र कष्ट हुन्छ, त्यसको बयान गर्न सकिन्न भन्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कविता, गीत, भजनको प्रवाहमा डुबेर निरन्त लेख्ने र गाउने ऊर्जाशील व्यक्तित्व राधादेवी पाण्डेको यो शोककाव्य आमाको छोराप्रतिको मायाको आँसुमय प्रमाण हो ।’ यो कृतिले उहाँले छोरा सशांकलाई अमर बनाउनुभएको छ, डा.नेपालले बताउनुभयो ।

लोकार्पण कार्यक्रममा कृति समीक्षक डा.अम्बिका अर्यालले मृत्यु वियोग जीवनमा स्वभाविक घटना भनिए पनि कतिपय घटनाले मानव जीवनमा मृत्युको वियोग र विछोडलाई अस्वभाविक र अपत्यारिलो बनाउँदा रहेछन्, भन्नुहुँदै यो शोककाव्य सशांक पढ्दैजाँदा त्यो अस्वभाविक पीडा गराउँछ, अपत्यारिलो मृत्युबोध दर्शाउँछ, भन्ने बताउनुभयो । डा.अर्यालले भन्नुभयो, ‘लेखिका राधादेवीले आकारमा सानो भएपनि शोकलाई कसरी शक्तिमा बदल्न सकिन्छ भन्ने बारेमा एउटा गहन र अमर कृति समाजलाई दिनुभएको छ ।’ काव्य सशांकले छोरा सशांकलाई अमर बनाउनेछ भन्ने कुरामा उहाँको जोड थियो ।

कार्यक्रमको संयोजन तथा सहजीकरण गर्नुभएकी मन्दिरा पाण्डेले एउटी गृहिणी महिला सर्जक हुनु र त्यसमा पनि आमा भएर सर्जक हुनु हाम्रो समाजमा झनै चुनौती र कठिनको विषय हुनेरहेछ भन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी कविताका श्लोकहरू सिर्जनाका लागि सिर्जित कोरा अक्षर मात्र नभई आमाको कोमल हृदयबाट पुत्रको शोकमा लेखिएका आँसुका भावना हुन् । यसले समाजमा छुट्टै ऊर्जा र चेतनाको सञ्चार गर्नेछ भन्ने विश्वास लागेको छ ।”

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी बाबुकाजि पाठकले बहिनी राधादेवीद्वारा लिखित कृति ‘सशांक’ बैनीको दुःखको स्वप्ना हो । जीवनमा यस्ता दुःख र पीडाहरू बराबर आइहन्छन् । हामीले सामना गर्नैपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘बैनीको यो काव्यले हामी सबैलाई शोकलाई कसरी शक्तिमा बदल्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ ।’ पाठकले आफन्तको वियोगले मनलाई जतिसुकै कठोर बनाउँछु भने पनि कमजोर पार्दोरहेछ, मन दुःखाउँदोरहेछ, भन्नुभयो ।

शोककाव्य सशांककी लेखिका आमा राधादेवीले मृत्य आफ्नो वशमा छैन । कसैले आमाबाबु अघि लाउँछन्, कसैले दिदीबहिनी, दाजुभाइ अघि लगाउँछन्, कसैले छोराछोरी, नातिनातिना अघि लगाउँछन् । जीवनमा यो दुःख, कष्ट, पीडा सबैले एकदिन न एकदिन भोग्नैपर्छ भन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो यो काव्य त्यही दुःख र पीडाको सम्झना हो, चिनो हो ।’ लेखिका पाण्डेले सन्तानको वियोग र विछोडको पीडा कति कष्टकर र पीडादायी हुन्छ भन्ने कुरा देख्ने र सुन्नेलाईभन्दा भोग्नेलाई थाहा हुन्छ, भन्नुभयो ।

प्रकाशित कृतिमा उहाँले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गर्नुभएको छ । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याउनुभएको हो । वि.सं. २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्: