२०८३ भदौ ७, काठमाडौं । कवि रीता खत्रीको कविता संग्रह ‘बाँच्नेहरूका नाममा’ सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा हिजो सम्पन्न भएको छ। साझा प्रकाशन, विद्युतकर्मी साहित्यिक समाज र विश्व नेपाली वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।
साझा प्रकाशनद्वारा प्रकाशित कविता संग्रहको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीले गर्नुभएको थियो।
कार्यक्रममा समीक्षक डा. अशोक थापा र समीक्षक प्रगति राईले ‘बाँच्नेहरूका नाममा’ कविता संग्रहका विविध पक्षमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। उहाँहरूले संग्रहमा समेटिएका कविताको भाव, विषयवस्तु, शिल्प, बिम्ब, भाषिक प्रयोग तथा समकालीन जीवनसँगको सम्बन्धका विषयमा चर्चा गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष शारदा पराजुलीले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, साहित्यकार उषा शेरचन तथा कोशी प्रदेशसभा सदस्य एवं कवि मिना श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो।
विमोचित कविता संग्रहबाट कविहरू जयन्ता पोखरेल, कृष्णदेव रिमाल, प्रोलाश सिन्धुलीय, पेशलकुमार लुईटेल, उषा के.सी., बाबु त्रिपाठीलगायतले कविता वाचन गर्नुभएको थियो।
कवि रीता खत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा साहित्यप्रेमीलाई धन्यवाद ज्ञापन गर्दै संग्रहबाट एक कविता वाचन गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीले कवि रीता खत्रीका कविताले जीवन्त समस्यालाई उठान गर्दै समाजलाई नयाँ दृष्टिकोणबाट सोच्न अग्रसर गराएको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्: