संसाक कामना !
गङ्गा खड्का
बूढानीलकण्ठ, काठमाडौं
भाषा, कला, संस्कृतिको विस्तार गर्नलाई
लोकको त्यो अधरमा खुसी छर्नलाई ।
जन्मेको भो तेह्र वर्ष शताब्दीझैँ काम
जितेको छ सबको मन संसाक राखी नाम ॥१।
बाल, वृद्ध, बनिताका अति प्यारो साथी
हरेक महिना हातमै पर्छ आहा कति जाती !
विविधता छ सामग्रीमा पढ्दा आउँछ मज्जा
आवरण पृष्ठ हुन्छ मनमोहक सज्जा ॥२।
बनाएका धेरैले छन् यसमा हिँड्ने पथ
नाम राखी नमेटिने, हाँक्दै जीवनरथ ।
नयाँलाई प्रोत्साहन, अग्रजको मान
गराउँछ सबैलाई ज्ञानामृत पान ॥३।
जस्तोसुकै परे पनि समयमै आउँछ
छुट्लान् कि त कोही भनी सबैतिर धाउँछ ।
निस्वार्थ छ भावनामा सबै एकै देख्छ
के गाउँ खै ? के सहर ! सबै कुरा लेख्छ ॥४।
आएको छ इसंसाक अनलाइन सेवा
लोककल्याण गरनेले खान्छ नि त मेवा ।
विश्वव्यापी रूपमा यो फिँज्दै कला सौरभ
संसाकको नाम लिँदा लाग्छ अति गौरव ॥५।
उमेशको त्याग, लगन, उदारताको फल
विद्वान् वर्ग गर्ने गर्छन् अझै मलजल ।
सुन्मा थप्या सुगन्धझैँ खुल्छ अक्षर दाना
सधैँ रहोस् कीर्ति, यश संसाक राखे नाम ! ॥६।


प्रतिक्रिया दिनुहोस्: