२०८३ असोज ६ गते काठमाडौँ। साहित्यिक पत्रकारिताले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको कुरा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले बताउनुभएको छ। नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष सूचना तथा सञ्चार मन्त्रालयमा भेटघाट गरी नेपालको जेठो पत्रकारिता ”साहित्यिक पत्रकारिता”का समस्या बारे नेपाल साहित्यिक पत्रकार सङ्घको प्रतिनिधि मण्डलले निम्न अनुसार ७ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको छ।
(१) साहित्यिक पत्रिकाहरू व्यावसायिक नभई नितान्त नीजि तवरमा प्रकाशित हुँदै आएका कारण यसमा तलबी कर्मचारी हुदैनन् ।अतः कर्मचारीको व्यवस्था अनिवार्य नगरिदिन हुन ।
(२) द्वैमासिक, त्रैमासिक लगायतका साहित्यिक पत्रपत्रिकालाई समेत हुलाक सुविधा उपलब्ध गराइदिन हुन ।
(३) लोककल्याणकारी विज्ञापन वापतको रकममा समयोचित वृद्धि गरिदिन हुन ।
(४) साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषा साहित्यिक पत्रपत्रिकाको बेग्लै मापदण्ड तयार गरी लागू गरिदिन हुन ।
(५ ) प्रेस काउन्सिल नेपालमा ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’को सिफारिसमा सदस्य मनोनयन गर्ने प्रावधानलाई यथावत् राखि प्रस्तावित मिडिया काउन्सिलमा समेत सो व्यवस्थालाई निरन्तरता दिन हुन ।
(६) नेपाल साहित्यिक पत्रकार सङ्घलाई सञ्चार मन्त्रालयबाट प्रदान गर्दै आएकोआर्थिक अनुदानलाई निरन्तरता दिन हुन।
७. उच्च प्रविधिको विकास सँगसँगै प्रकाशन भइरहेका साहित्यिक अनलाइन पत्रिकालाई समेत व्यवस्थित वर्गीकरण गरिदिन हुन जस्ता मागहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
नेपाल साहित्यिक पत्रकार सङ्घको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमल्सिनाले साहित्यिक पत्रकारिताले भाषा, साहित्य , संस्कृति र कला क्षेत्रको संरक्षण र संवर्धन गर्दै नयाँ पुस्तासम्म पुऱ्याउने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने कुरामा जोड दिनुभयो। साथै,उहाँले दुर्गम तथा ग्रामिण क्षेत्रबाट हुँदै आएको पत्रकारितालाई समेत सरकारले उचित प्राथमिकता दिँदै लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित गर्न लागेको बताउनुभयो । सूचना तथा सञ्चारमन्त्री डा.तिमल्सिनाले साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेकाले ध्यानाकर्षण पत्रमा उल्लेख भएका मागहरू सकारात्मक भएको समेत बताउनुभयो।
उक्त प्रतिनिधि मण्डलमा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवाल, पूर्व अध्यक्ष तथा सल्लाहकार रोचक घिमिरे, वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष रामप्रसाद पन्त, महासचिव चेतनाथ धमला, उपमहासचिव नवराज रिजाल, सचिवालय सदस्य गणेश राई, केन्द्रीय सदस्यहरू हंसावती कुर्मी, विष्णु भण्डारी, पूण्यप्रसाद घिमिरेलगायत सरिक हुनुहुन्थ्यो।


प्रतिक्रिया दिनुहोस्: