पुरुष नै देवता हुन् प्रकृति हुन् देवी ।
कारण र कार्यले यी हुन्छन् सेव्य सेवी ।।
आफ्नू स्वार्थ परि पूर्ति गर्न रातोदिन ।
अकारणै अरूलाई दुःख दिने किन ? ।।१।।
जिनतिन दुई दिन गर्न आफू क्रीडा ।
सीधासादा निमुखामा पार्दै तीव्र पीडा ।।
धर्म छाडी अधर्ममा लागी रातोदिन ।
अकार्थमा अरूलाई दुःख दिने किन ? ।।२।।
ढाँटी छली सत्ता भत्ता आफ्नै हात पारी ।
त्यै शक्तिको उन्मादले बन्दै अहङ्कारी ।।
बाटो छोडी कुमार्गमा लाग्दै रातोदिन ।
अनायासै अरूलाई दुःख दिने किन ? ।।३।।
न्याय नीति लत्त्याउँदै पोस्न परिजन ।
भेटेसम्म कुम्ल्याएर स्वयं कालो धन ।।
भुइँमा न भाँडामा भै अझै रातोदिन ।
बिनासित्ति अरूलाई दुःख दिने किन ? ।।४।।
प्रतिक्रिया दिनुहोस्: