नियात्रा

पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा

८ चैत्र २०८१
उमेश पाण्डे

कात्तिकको तेस्रो साता ससुरा बुबा डा.सत्यराज थपलिया र मैले पूर्वी नेपालको एकसाताव्यापी धार्मिक यात्रा गरेका थियौँ । त्यतिबेला मेरी जहान उमा जान नसक्ने भएपछि हामी मात्र यात्रामा गएका थियौँ । यसपालि भने उमा जाने भइन् । फागुनको सुरुमा हामी गाउँ गएका थियौँ । त्यतिबेला कुरा हुँदा मेनुका (भाइबुहारी) पनि हामीसँगै विराटनगर जाने कुरा भएको थियो । काठमाडौं फर्केपछि हामी जाने तयारीमा लाग्यौँ । गाउँमा पनि फोन हुँदै थियो । भाइको तीन जना (भाइ बिनोद, बुहारी मेनुका र छोरी बिपना) मा को को जाने भन्ने कुरामा उनीहरू सल्लाह गरिरहेका थिए । फागुन १३ गते जाने निश्चित गरियो । गाडीबाट उमा जान नसक्ने भएपछि प्लेनबाट नै जानुपर्छ भन्ने कुरा भयो । टिकट कसरी काट्ने भन्ने कुरा हुँदै थियो, बिपनाको साथी गणेश भट्टराई होटल सञ्चालक हुनुहुँदो रहेछ, उहाँलाई टिकट सम्बन्धी जानकारी हुन्छ भनेर बिपनाले सोध्दा हुन्छ म टिकटको व्यवस्था गरिदिन्छु नि भन्नुभएछ, हामीलाई सुनमा सुगन्ध भै’हाल्यो । उहाँले नै बुद्ध एयरको उडान नं.यू४ ७०७ बाट २०८१ फागुन १३ गते मङ्गलबार (२५ फेब्रुअरी २०२५) का दिन दिउँसो १३ः४५ को टिकट काटिदिनुभएको थियो । भाइहरू त्यसैदिन बिहान ११ बजे गाउँबाट आइपुगे । हामी मामाघर गोंगबुँचोकमा गएर खाना खाएर आएका थियौँ । झोलाहरू धेरैजसो अघिल्लोदिन बेलुका नै मिलाइसकेका थियौँ । बाँकी सामानहरू मिलाएर हामी शङ्कर जी.सी.को स्करपिओ बोलाएका थियौँ, त्यसैमा बसेर १२ः१५ मा त्रिभुवन विमानस्थलतर्फ लाग्यौँ । चेकजाँच, बोर्डिङ्पास लगायतका काम सकेर डिपाचर कक्षमा बसेको झण्डै २ घण्टापछि ३ बजे हामी जहाजमा बस्यौँ र ३ः१० मा प्लेन उडेको थियो । करिब ४० मिनेटको आकाशीय यात्रापछि जहाज विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । राधिकाले हामीलाई लिन गाडी पठाएकी रहिछन् । उनको गाडीमा बसेर ४ बजे विराटनगरको फूटबलचोकको उनको क्वाटरमा पुगेका थियौँ ।

डा.राधिका थपलिया कोशी प्रदेशको स्वास्थ्य सचिव छिन् । उनी उमाको कान्छी बहिनी । उनको विराटनगरको सरुवाले पनि हाम्रो यात्रालाई केही सजिलो पारेको छ । हामी क्वाटरमा पुगेर केही बेर आराम गर्‍यौँ । केही समयको आरामपछि साँझ ७ बजेतिर हामी सम्झनाचोकमा रहेको हाम्रो आमापट्टिबाट सानीमा (चिनी सेढाई) र बापट्टिबाट बाको काइँलो मामाको छोरा काका (माधव सेढाई) को घरमा गयौँ । उहाँहरू झण्डै ७० वर्षदेखि विराटनगरमा बस्दै आउनुभएको छ । उहाँहरू पहिले दुहवी बजारको हाइवे रोडमा बस्नुहुन्थ्यो । अहिले विराटनगर बस्दै आउनुभएको छ । केही बेरको गफगाफपछि हामी छिटै फर्क्यौं । घर आएर सफासुग्घर भएर आराम गरियो र खाना खाएर सुत्ने तरखर गर्दा रातको ११ बज्न लागिसकेको थियो ।

यात्राको दुईटा उद्देश्य थियो । पहिलो कोशी प्रदेशको चार जिल्लाहरू सुनसरी, मोरङ, झापा र इलामको प्रमुख स्थानहरूको भ्रमण गर्ने र ती स्थानहरूमा रहेका प्रमुख धार्मिक तीर्थस्थालहरूको दर्शन र पूजा–अर्चना गर्ने । हाम्रो यात्रामा रहेका राधिका, म उमेश, उमा, बिनोद, मेनुका, बिपना र चालक भाइ आशिषले तीर्थस्थालहरूको दर्शन र पूजा–अर्चना गर्‍यौँ, मठ–मन्दिर, देवालय–शिवालयहरूको भ्रमण गर्‍यौँ । यसरी एक साताव्यापी धार्मिक तथा पर्वतीय यात्रा पूरा गरेका थियौँ ।

यही २०८१ सालको कात्तिक तेस्रो साता गरेको यात्रामा भने हामीहरूले ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं.१० मा रहेको माता पाथीभराको दर्शन गर्न गएका थियौँ । त्यस्तै तेह्रथुम सदरमुकाम म्याङलुङमा म्याङलुङ देवीको दर्शन गर्‍यौँ । अन्यत्र पनि पुगेका ठाउँहरूमा देवी/देवताका मन्दिर, मूर्ति र देवस्थलहरूको पूजा र दर्शन गर्दै हिँडेका थियौँ । हामी खोटाङको हलेसी महादेव मन्दिरमा पनि पुग्यौँ । मन्दिरमा पूजाआजा र दर्शन गरेर त्यहाँ रहेका सानो, ठूलो दुवै गुफा हेरेका थियौँ । तर यसपालि ती स्थानहरूमा हामी गएनौँ ।

२०८१/११/१३ गते मङ्गलबारको हाम्रो यात्रा
यसपटक भने हाम्रो यात्रा २०८१ फागुन १३ गते मङ्गलबारबाट सुरु भएको थियो । त्यस दिन गोंगबुँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध एयरको विमानबाट विराटनगर विमानस्थल पुग्यौँ । त्यहाँबाट विराटनगरको फूटबलचोक अन्तर्गत् हाम्रोचोकमा रहेको राधिका बहिनीको क्वाटरमा गयौँ । त्यसपछि सम्झनाचोकमा काका–सानिमाको घर पुगेर पुनः हाम्रोचोकमा आई बस्ने काम भएको थियो ।

२०८१/११/१४ गते बुधबारको हाम्रो यात्रा
पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमणमा हिँडेका हामीहरूले आज बिहान विराटनगरबाट हिँडेर दुहबी, इटहरी, इनरुवा, कालाबन्जर हुँदै चतराधाममा कृष्ण मन्दिर, हनुमान मन्दिर, शिव मन्दिर दर्शन पछि धर्तीको पहिलो तीर्थ वराहक्षेत्रको दर्शन सकेर धरानको बूढासुब्बा, दन्तकाली र पिण्डेश्वर धामको पूजा दर्शन गरेर साँझ ६ बजे पुनः विराटनगर आइपुग्यौं । त्यस भन्दाअघि बिहानै नुहाइधुवाइ पूजापाठ सकेर बिराटनगरकै हाम्रो चोकमा रहेको महेन्द्रेश्वर महादेव मन्दिरमा पूजा गरेका थियौँ ।

२०८१/११/१५ गते विहीबारको हाम्रो यात्रा
पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमणमा हिँडेका हामीहरूले आज दिउँसो विराटनगरबाट पूर्वी मोरङको रङ्गेलीमा रहेको संसारेश्वरीमाई र काली मन्दिरको दर्शन, पूजाआजा सकेर पूर्व–पश्चिम राजमार्गको कानेपोखरीमा पुगेर त्यहाँको खीर खायौं ! (कानेपोखरी पूर्वी यात्रामा खीरकोलागि प्रशिद्ध रहेछ ।) त्यहाँबाट बेलबारी हुँदै विराटनगर सम्झना चोकमा आएर काका/सानिमा कहाँ चिया खायौँ । त्यसपछि भारतको जोगबनी बजार घुम्दै रेल वे स्टेशनमा नयाँ, पुराना दुवै किसिमका रेलहरू कुँदेको हेर्‍यौँ । पहिलोचोटि रेल देख्दा खुब रमाइलो भएको थियो । फर्किदा विराटनगरको बजार, काली मन्दिर, हनुमान थानको दर्शन गर्दै साँझ घर आइपुग्यौं ।

२०८१/११/१६ गते शुक्रबारको हाम्रो यात्रा
पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमणमा हिँडेका हामीहरूले आज विराटनगरबाट बेलबारी हुँदै झापा चारआलीमा रहेको श्री पाउ पाथीभराको दर्शन अवलोकन गरी दमक, सुरुङ्गा, बिर्तामोड, चारआली हुँदै इलामको कन्याममा पुगेर चियाबगान घुम्ने काम गर्‍यौँ । त्यसपछि फिक्कल बजार पुगेर खाजा खायौँ र त्यहाँका स्थानीय उत्पादनहरू किन्यौँ । त्यहाँबाट हामी नेपालको पूर्वी नाका पशुपतिनगर पुगेर नेपाल–भारत सीमा वरपर घुम्यौँ । त्यसपछि फर्किएर झापाको काँकडभित्ता नाकाको मेची पुल हुँदै भारतको पानी ट्याङ्कीसम्म पुगेर पुनः बिहानकै बाटो हुँदै फर्किएर राति ९ बजे बिराटनगर आइपुग्यौँ र खाना खाएर ११ बजेतिर सुत्ने तरखरमा लाग्यौँ ।

२०८१/११/१७ गते शनिबारको हाम्रो यात्रा
पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमणमा हिँडेका हामीले आज विराटनगर बर्गाछीको श्री राधा कृष्ण मन्दिर दर्शन गर्‍यौँ । हिँड्दै/हेर्दै काका/सानिमा (माधब/चिनी सेढाई) को घर सम्झनाचोकमा गयौँ र खाना खायौँ । दिउँसो सम्झना चोकबाट निस्केर दुहवीबाट इनरुवाको घुमघाम गरियो । त्यहाँबाट कोशी ब्यारेजमा घुम्यौँ । सप्तरी जिल्लाको केही भूभागको अवलोकन पश्चात् फर्कंदा कोशी टप्पुको अवलोकन गर्‍यौँ । साँझ फर्किंदा सुनसरीको रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिर दर्शन गयौँ । त्यसपछि झुम्का इटहरी हुँदै विराटनगर फर्कियौँ ।

२०८१/११/१८ गते आइतबारको हाम्रो यात्रा
पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमणमा हिँडेका हामीहरूले आज बिहान खाना खाएर सिटी सफारीमा विराटनगरको मध्यबजारमा रहेको सेन्टर मल पुगी आवश्यक सरसामान किन्यौँ । त्यसपछि काली मन्दिर र पन्चमूखी हनुमान मन्दिर दर्शन गरी फर्कियौं । कोठामा आएर खाजा खायौँ । राधिका पनि कार्यालयबाट आइपुगिन् । उनीसँगका केही भलाकुसारीपछि हामी ५ः४५ बजे विराटनगर विमास्थलतर्पm लाग्यौँ । सुरक्षा जाँच र बोर्डिङ पास लिँदासम्म साँझको ६ः१५ भएको थियो । झण्डै दुई घण्टा बढीको प्रस्थान कक्षको बसाइपछि यति एयरको उडान नं. ७९० बाट साँझ .८ः३७ बजे विराटनगर छोडेर विमानमा काठमाडौं लाग्यौँ । ४३ मिनेटको उडानबाट विमानले हामीलाई ९ः२० बजे काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण गरायो । त्यहाँबाट बिपुलको कारबाट हामीहरू गौशाला कालोपुलमा रहेको गणेशजीको होटेल ‘गार्डेन फ्लावर’ मा आएर एकछिन आराम गर्दै चिया खायौँ । त्यसपछि त्यहीँ नै खाना खाएर २०८१ फागुन १८ गते (२ मार्च २०२५) राति १२ बजे करिब एक हप्ताको पूर्वी नेपालको धार्मिक तथा पर्वतीय यात्रा अवलोकन भ्रमण पूरा गरी घर आइपुग्यौँ ।

प्रतिक्रिया दिनुहोस्: