लघुकथा

अविजित कलाकार

१८ बैशाख २०८२
ड़ा गार्गी शर्मा

भीमरथारोहणका युगल जोडीलाई बधाई तथा शुभकामना दिन उनका असङ्ख्य इष्टमित्र, साथीसंगातीको लाइन लागेको छ । त्यही बेला एकहुल मानव स्वरूपी कला त्यहाँ पुग्छन् र रथारोहीलाई भेट्न सरासर अघि बढ्न खोज्छन् । यो देखेर त्यहीँका एकव्यक्ति सोध्छन्, ‘तपाईंहरू कसलाई भेट्न खोज्दै हुनुहुन्छ ?’
कलास्वरूपी : हामी आज भीमरथारोहण गर्ने सम्मानित व्यक्तिसँग भेट्न खोज्दैछौँ, अर्थात् हामी आजको स्वरूप दिने अविजित कलाकारलाई शुभकामना दिन आएका हौँ ।
व्यक्ति : तपाईंहरूको परिचय ?
कलास्वरूपी : हामी उनका मानस सन्तान हौँ ।
व्यक्ति : (कलास्वरूपी छन् तर हामीजस्तै बोल्दछन्, मृदृभाषी छन्, जे होस् यिनीहरूका बारे रामै्र बुझ्नुपर्‍यो ।) भन्ने सोच्दै उनी सोध्छन्, ‘अहिले उहाँ अति व्यस्त हुनुहुन्छ, जे भन्नु छ मलाई भन्नुहोस्, म उहाँलाई सुनाइदिन्छु ।’
कलास्वरूपी : हामीले यो स्वरूप पाउनुभन्दा पहिले रुखका ठुटा, जरा थियौँ, जताततै फ्यालिएका, धूलैधूलो, मैलो, हिलोले पुरिएका, प्रकृतिमा फ्याँकिएका निर्जीव सरहका टुहुरा जरा ।
व्यक्ति : अनि कसरी यस्तो स्वरूप पाउनुभयो तपाईंहरूले ?
कलास्वरूपी : कताकताबाट कसरी उनी हाम्रो छेउ पुगे, हामी अनाथ, टुहुराको जीवन देखे, आत्मा देखे । संवेदनशील हृदयका रहेछन् । हामीलाई, हाम्रो अमर आत्मालाई अन्तर्दृष्टिले छिचोलेछन् ।
व्यक्ति : कस्तो अचम्मको कुरा ! रुखका जराबाट पनि यस्तो सिर्जना हुन्छ र ?
कलास्वरूपी : हो, यही त अचम्म मान्छन् दुनियाँ ! तपाईं सुन्नुहोस् न म भन्दै छु । जसले अरूको आत्मा बुझ्नसक्छ उसले विश्व चिन्नसक्छ, संसार समेट्न सक्छ । कतिपयले भन्छन्, उनी संघर्षी छन् । उनी कवि हुन् आध्यात्मिक भावले परिपोषित समाजसेवी छन् । यी सबै गुणका उनी झन् उच्च कलाकार बनेका हुन्, जीवनदायिनी कलाकार । सबैले काम नलाग्ने भनेर फ्याँकिएको जराभित्र उनले हाम्रो संसार देखे, समाज भेटे । हाम्रो माध्यमबाट युगौँदेखि मानव समाजभित्र चलिरहेका युद्ध, हिंसा, अहिंसा, क्रोध र मित्रता, मातृत्व, मानवता, आत्मीयता, अपनत्व सबै हामीमा नीहित भएको देखे । जरा अर्थात् हामीबीचको एकै टुक्रामा देखे । अविजित कलाकार न हुन्, न उनलाई सियोधागो चाहियो, न त अरूको अङ्गको टुक्रा सापट लिएर आजको यो हाम्रो स्वरूप बनाउनुपर्‍यो । त्यसैले आज हामी उनको सतहत्तर वर्षे पास्नीमा उनलाई अभिवादन गर्न आएका हौँ । खबर पुर्‍याइदिनोस् ।

म्हेपी, काठमाडौं।
प्रा डा शर्मा जनस्तरको ‘विद्वत रत्न’ को उपाधिबाट विभूषित तथा अभिनन्दित हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: