खपी घामपानी दिवारात खाली ।
खन्यो खेत ज्यादै बनी शक्तिशाली ॥
बिनाकाममा बाँदरै लुट्छ बाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥१॥
खुनी, बैगुनी, भ्रष्ट औ आततायी ।
हठी निर्घिनी हुन् सबै दुःखदायी ॥
रिसाई सधैं गर्दछन् व्यर्थ गाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥२॥
स्वयम् लेक–बेँसी, उकाली–भिराली ।
हिँडेका इमान्दारलाई निकाली ॥
भयो स्वागतै भव्य भ्रष्टै उकाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥३॥
अधर्मी, खुनी, दुष्टले न्याय टाली ।
स्वयम् गर्नको लागि हालीमुहाली ॥
दरो द्वेष राख्छन् निजी स्वार्थ पाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥४॥
वनैबीच बाङ्गा सबै वृक्ष छाडी ।
चुनी रूख सोझै त काटिन्छ खालि ॥
अहोरात्र आफैं पसीना निकाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥५॥
सखी, पुत्र, छोरी, बुहारी र साली ।
हदै माथिका ओहदामा बसाली ॥
स्वयम् राज्य गर्छन् सकेसम्म जाली ।
सही काम गर्दा कहाँ मिल्छ ताली ? ॥६॥
छन्द : भुजङ्गप्रयात ।
लिखु–६, थानसिङ, नवाकोट ।
मिति : २०८२।०२।०२ ।
प्रतिक्रिया दिनुहोस्: