कविता

यस अङ्कको कवि र कविता

२८ जेष्ठ २०८२
गङ्गा खड्का

नाम : गङ्गा खड्का
जन्म मिति : २०३५–०६–०३
माता : धन बस्नेत
पिता : केशर बहादुर बस्नेत
पति : श्याम कुमार खड्का
जन्मस्थल : आलापोट,काठमाडौँ
स्थायी ठेगाना : बूढानीलकण्ठ, काठमाडौँ
मोबाइल : ९८४१३०८८२५
शिक्षा : स्नातक (नेपाली, अर्थशास्त्र)
पेसा : शिक्षण

आवद्ध संस्था :

१. हाम्रो लघुकथा केन्द्र, नेपाल (आजीवन सदस्य)
२. कल्पतरु द्वैमासिकको आजीवन सदस्य
३. मुक्तिनाथ दर्शन सेवाको सदस्य

पुरस्कार तथा सम्मान :
१. साहित्य पोस्टद्वारा आयोजित लघुकथा प्रतियोगिताको दसौँ हप्ताको विजयी
२. साहित्य पोस्टद्वारा आयोजित ३४ औँ शृङ्खलाको बाछिटा प्रतियोगितामा सर्वोत्कृष्ट
३. चित्रमा बाछिटा लेखन प्रतियोगितामा पाँच पटक विजयी
४. आधुनिक नेपाली लघुकथाद्वारा लघुकथा सृजना सम्मान
५. सिक्किमेली लघुकथाद्वारा वार्षिकोत्सवको अवसरमा आयोजित लघुकथा प्रतियोगितामा तृतीय
६. साहित्य संगम संसारद्वारा आयोजित लघुकथा प्रतियोगितामा क्रमशः उत्कृष्ट, द्वितीय, तृतीय, उत्कृष्ट र प्रथम
७. साहित्य संगम संसारद्वारा आयोजित ३७ औँ शृङ्खलाको कविता प्रतियोगितामा प्रथम
८. हाम्रो साहित्य यात्रा पेजद्वारा सञ्चालित मातातीर्थ विशेष मुक्तक प्रतियोगितामा उत्कृष्ट
९. लघुकथा प्रतिष्ठानद्वारा दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित लघुकथा प्रतियोगितामा उत्कृष्ट
१०. लघुकथा प्रतिष्ठानद्वारा आयोजित पाका नागरिक विषयक लघुकथा प्रतियोगितामा सर्वोत्कृष्ट
११. हाम्रो लघुकथा केन्द्रको चौँथो वार्षिकोत्सवमा ‘वार्षिकोत्सव सम्मान– २०८०’
१२. टुक्का श्री सम्मान २०८०
१३. लघुकथा समाज कोशीद्वारा आयोजित प्रणय विषयक लघुकथा प्रतियोगितामा उत्कृष्ट
१४. लघुकथा समाज कोशीद्वारा आयोजित पर्व र खुसी विषयक लघुकथा प्रतियोगितामा उत्कृष्ट
१५. नीलकण्ठ प्रतिष्ठानद्वारा आयोजित बाग्मती प्रदेशस्तरीय खुला लघुकथा प्रतियोगितामा सान्त्वना
१६. अभिनव साहित्य प्रतिष्ठानद्वारा आयोजित संस्मरण लेखन प्रतियोगितामा तृतीय
१७. आधुनिक नेपाली लघुकथाद्वारा लघुकथा सृजना सम्मान
१८. हाम्रो लघुकथा केन्द्रको चौँथो वार्षिकोत्सवमा ‘वार्षिकोत्सव सम्मान –२०८०’

प्रकाशित कृति : झङ्कार (लघुकथा सङ्ग्रह)
प्रकाशन : विभिन्न पत्रपत्रिकामा विविध बिधाका लेखरचना प्रकाशित
सम्पादक : बूढानीलकण्ठ खप्तडी खड्का समाज स्मारिका
सम्प्रति : बाल विकास हाई स्कुल, बढानीलकण्ठ, काठमाडौं
email : ganga.10khadka@gmail.com

बालकविता
ठेकी

साँघुरो छ घाँटी मेरो
फुकेको छ जीउ
राख्छन् सबले घरमा मलाई
बनाउनलाई घिउ ।

मुख मेरो फराकिलो
खान्छु धेरै पाथी
पशुपालक किसानका
म त असल साथी ।

दूध हाली जमाउँछन्
मीठो स्वादे दही
मथिकन मदानीले
बनाउँछन् मोही ।

काठको पनि बनाउँछन्
मलाई बान्की पारी
आहा ! खुसी हुन्छन् सबै
खाँदा मोही सारी ।

स्टिल र माटोले नि
बनाउँछन् मलाई
घिउ मथ्न सघाएर
गर्छु सबको भलाइ ।

घुर्रा घुमाइ मदानीको
समाउँदै नेती
मथ्न थालेपछि बलले
घुर्छिन् नौनी सेती ।

एउटै छ पीर मलाई
हराउँछु कि भन्ने
आधुनिक भएपछि
को होला र गन्ने ?

बालकविता
घडी

तीन भाइ सचेत भै
गर्छन् काम राम्रो
लापरबाही गर्नेसँग
बनिदिन्छन् चाम्रो ।

घण्टा सुई बाह्र पटक
मारिदिन्छ फन्को
मिनेट र सेकेन्ड सुईलाई
चटारोको रन्को ।

एउटै ताल उही ढङ्ग
तालिम पाए जस्तो
आफूसँग नचल्नेको
जीवन पार्छ सस्तो ।

कर्तव्यको घेरा तोड्ने
गर्दैन नि काम
आफैँमा त्यो काफी छ नि
घडी भन्ने नाम ।

आकार भिन्न भए पनि
यौटै काम गर्छ
समयलाई चिन्नेको छ
सधैं खुसी भर्छ ।

कैले बस्छ यो भित्तामा
कैले हातमा छ
बालकदेखि वृद्धसम्म
घडी साथमा छ ।

घडीसँगै चले मात्रै
जीवन उच्च हुन्छ
मिहिनेती सधैँभरि
शिखरलाई छुन्छ ।

मुक्तकहरू

काम गर्ने कालु हुन्छ मकै खाने भालु
पसिना बगाउनेले खान्छ मात्रै आलु ।
श्रमको मूल्य बुझ्दैन कहीँ कसैले नि
अर्काको मिहिनेतमा रम्ने बन्छ ठालु ।

तिमीले मलाई छुटायौ भनेर गुनासो छैन अब
सिसा जसरी नै फुटायौ भनेर गुनासो छैन अब ।
सही मान्छे चिन्न नसक्नु आफ्नै कमजोरी रहेछ
त्यसैले हृदय टुटायौ भनेर गुनासो छैन अब ।

यहाँ कसैको भर छैन दिउँसै रात पर्छ भने
जसले पनि आफ्नै मात्रै स्वार्थको घडा भर्छ भने
विश्वासको धागो च्वाट्ट चुँडिने नै भयो नराम्ररी
पुष्पपराग झर्ने ठाउँमा विषवृक्ष सर्छ भने ।

हराएँ भन्ने गुनासो नगर म हराएको छैन
दुनियाँको टीकाटिप्पणीसँग म डराएको छैन
दुई किनाराका झैँ मिलन असम्भव भए नि
यो हृदयमा अरू कसैको नाम भराएको छैन ।

पहिले आफ्ना लाग्ने अब पराई लाग्न थाले
जबर्जस्ती यो मनबाट अवकाश माग्न थाले
ढुङ्गाले हान्नेलाई फूलले हान्छु भन्दाभन्दै
थाहै नदिई सुट्ट खै ! कतातिर भाग्न थाले ।

प्रस्तुति : उमेश पाण्डे।

प्रतिक्रिया दिनुहोस्: