प्रा .डा. श्रेष्ठलाई लीलाध्वज थापा साहित्य सम्मान  प्रदान 

७ श्रावण २०८२

काठमाडौ, असार २१ गते।  लीलाध्वज थापा साहित्य प्रतिष्ठानले उपन्यासकार लीलाध्वज थापाको १०५ औं जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठलाई प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपती बैरागीकाइलाले रू २५ हजार नगद सहित लीलाध्वज थापा साहित्य सम्मान /पुरस्कार प्रदान गर्नु भयो । प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाएर मालाले सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा उपन्यासकार लीलाध्वज थापाको २००९ सालमा प्रकाशित ‘दाह्री’ निबन्धको प्रतिष्ठान द्वारा पुन:र्मुद्रण गरेको कृतिका साथै साहित्यकार एवं दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्पादन गर्नुभई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको ‘विवेचकको दृष्टिमा विजयध्वज थापा’ समालोचना सङ्ग्रहको  लोकार्पणसमेत भयो । उक्त दुवै पुस्तकको बारेमा बोल्दै समालोचक प्रमोद प्रधानले दाह्री जस्तो एउटै विषयमा यति लामो हास्य र रसिलो निबन्ध पहिले नपढेको र अर्को पुस्तक विवेचकको दृष्टिमा विजयध्वज थापा पढेपछि विजयको सबैजसो पुस्तकबारे जानकारी हुनेछ भन्नुभयो ।

सम्मानित/पुरस्कृत हुनुभएका श्रेष्ठले यशस्वी साधक साहित्यकार लीलाध्वज थापाको कृतिको सम्झना गर्दै उहाँको नामबाट पुत्र विजयध्वज थापाले साहित्यिक प्रतिष्ठान स्थापना गरेर श्रष्ठाहरूको सम्मान गर्ने क्रममा आज मलाई समेत सम्मान एवं पुरस्कार प्रदान गरिएकोमा खुशी व्यक्त गर्नुहुदै आफ्नो लामो कथा भन्दै हात्ती माथी हौदा चढ्दा झैं खुशी लागेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा कवि विप्लव ढकाल, रञ्जना निरौला, भीष्म उप्रेती र गीता कार्कीले आ-आफ्नो कवितावाचन गर्नुभएको थियो । अध्यक्ष थापाले चारैजना कविलाई खादा र प्रमुख आतिथिले कदरपत्रले सम्मान गर्नु भयो । अध्यक्ष थापाले प्रमुख अतिथि वैरागी काँईंलालाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिले विगत ६ दशकदेखि नेपाली भाषा-साहित्यको क्षेत्रमा क्रियाशील रही विशेषत: समालोचना, निबन्ध र अनुसन्धानमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि निरन्तरता दिनुभई अत्यन्त स्तुत्य सेवा प्रदान गर्दै आउनुभएका प्रतिभालाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा. रमा शर्माले लीलाध्वज थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको साहित्य बारे चर्चा गर्नुहुँदै उहाँको नाममा प्रतिष्ठान स्थापना गरेकोमा सराहना गर्नुभयो । वरिष्ठ पत्रकार एवं साहित्यकार रोचक घिमिरेले लीलाध्वज थापाको निबन्ध दाह्री बारेमा चर्चा गर्नुहुँदै लोप हुन लागेको कीर्ति प्रकाशन गरेकोमा धन्यवाद भन्नुभयो ।

सो कार्यक्रममा साहित्यिक पत्रकार रामप्रसाद पन्तले स्वागत मन्तव्यमा प्रा.डा. श्रेष्ठको योगदान बारे चर्चा गर्नुभयो । साहित्यकार यादव भट्टराईले उद्घोषकको भूमिका निभाउनुभएको थियो। कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रतिष्ठानको गतिविधिको चर्चा गर्दै विगत ६ दशकदेखि नेपाली भाषाको उन्नयन, अनुसन्धान तथा प्राध्यापन क्षेत्रमा दीर्घकालीन योगदान दिनुभई विशेषत: समालोचना, निबन्ध र अनुसन्धानमा कलम चलाइरहनुका साथै करिब दुई दर्जन कृति प्रकाशन गरिसक्नुभएका र दुई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारिधि गराइसक्नुभएका प्रा.डा.दयाराम श्रेष्ठले सम्मान/ पुरस्कार ग्रहण गरिदिनुहुँदा प्रतिष्ठानको गरिमा बढेको उल्लेख गर्दै आफ्नो व्यस्त समयको बावजुद पनि कार्यक्रममा आई कार्यक्रम सफल पारिदिनुभएकोमा प्रमुख अतिथि लगाएत सम्पूर्ण अतिथि एवं अभ्यागतहरूप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: