बिहानै उठी आमाले
फर्याकफुरुक गर्नुभो
सरसामान किन्नलाई
बा बजार झर्नुभो ।
आज साउने सङ्क्रान्ति
दिदी भिनाजु आउने रे !
बजारबाट किनी बाले
मीठो मसिनो ल्याउने रे !
पण्डित बा नि आउनुभो
सिधा दान लिनलाई
सुख, शान्ति समृद्धिको
आशीर्वाद दिनलाई ।
साथीभाइ बटुली
तिउरी लाउन भनेर
नङमा लेदो लाइदिएँ
तानीतानी म नेर ।
भातसात खाएर
वनतिर जाने रे
लुतो फाल्ने सामान खोजी
घरघर लाने रे !
कुकरडाइनो, पानीअमला
लुतेझार चाहिने रे !
लुतो फाले राम्रोसँग
रोगबाट मुक्ति पाइने रे !
नाङ्लो ठटाई बेलुकी
अगुल्टो नि फाल्ने रे !
कण्डारक राक्षसको
पूजा गरिहाल्ने रे !
उपियाँ जा रुपियाँ
आइज भने राम्रो रे !
चलेको यो चलनै
पहिल्यैदेखि हाम्रो रे !
सूर्य पनि दक्षिणतिर
यात्रा सुरु गर्छन् रे !
सारा लोक हितमा
बिउ–बिजन छर्छन् रे !
बूढानीलकण्ठ, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: