त्रिवेणीधाम परिसरमा वृक्षारोपणको कार्यक्रम

१३ श्रावण २०८२

नुवाकोट, (त्रिवेणीधाम), २०८२ साउन १० गते शनिबार। त्रिवेणीधाम परिसरमा वृक्षारोपणका लागि बोट बिरुवाहरु वन डिभिजन कार्यालय नुवाकोटको सहकार्य, अनुमति, सहयोग र समन्वयमा त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाको आयोजनामा “त्रिवेणीधाममा हरियाली, वातावरणमा खुशीयाली” नाराका साथ वृक्षारोपण कार्य सम्पन्न भयो । संस्थाका संस्थापक संरक्षक रामकृष्ण थापाको प्रमुख आतिथ्य र अध्यक्ष अर्जुनप्रसाद गुणीको सभापतित्त्व मा सञ्चालित कार्यक्रममा श्रीकृष्ण तीर्थस्थल वेदविद्याश्रम गुरुकुलका प्रधान आचार्य गुरु अभिषेक ओझा, प्रधानाध्यापक नवीन मैनाली, समाजसेवी रामशरण थापा, जनप्रतिनिधि रामजंग बुढाथोकी, धार्मिक अभियन्ता लक्ष्मण थापा, हरि सिटौला, दामोदर सिटौला, संस्थाका अन्य पदाधिकारी र गुरुकुलका ब्राह्मण बटुकहरूसहित   विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बलराम कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा  दीप प्रज्वलनसहित कार्यक्रमका सभापति र प्रमुख अतिथिले  संयुक्त रुपमा खड्गलेश्वर महादेवको सान्निध्यमा रुद्राक्षको बिरुवा रोप्दै वृक्षारोपण कार्यको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा संरक्षक रामकृष्ण थापाले आफ्नो मन्तव्य राख्दै त्रिवेणीधामको परिकल्पना रोम सहरको जसरी भएको हो, एकैदिनमा बनेको हैन।  दिन, महिना, वर्ष लागेर जसरी सुन्दर रोम शहरको निर्माण भएको थियो, त्यसरी नै यो त्रिवेणीधामको परिकल्पना र विकास भएको कुरा बताउनु भयो । उहाँले वृक्षारोपण जस्ता रचनात्मक कार्यहरू गर्दै अगाडि बढिरहनु पर्ने कुरा व्यक्त गर्नुभयो । संस्थाले गरेको यो महत्त्वपूर्ण कार्यआज नदेखिएता पनि भोलिका पुस्ताले गर्व गर्न लाएको धरोहर निर्माण हुने कुरामा शंका नहुने बताउनुभयो ।

कार्यक्रम सञ्चालक कार्कीले रोपिएका यस बिरुवाहरुको संरक्षण र रेखदेख गर्ने जिम्मा अब हामी सबैको रहेको बताउँदै त्रिवेणिधामप्रति सदा सर्वदा सकेको सहयोग गर्ने वचनवद्धता  जनाउनुभयो।

श्री त्रिवेणीधाम सुधार संस्थाका अध्यक्ष अर्जुन प्रसाद गुणीले वृक्षारोपण कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद व्यक्त गर्दै, त्रिवेणीधामको कार्य गुरुयोजना अनुरुप रहेको र धामलाई शीघ्रातिशीघ्र अन्य प्रसिद्ध धामकै स्तरमा पुराउने लक्ष्य राखेर सबै जना दिनरात खटिरहनु भएको छ, भन्नुहुँदै वृक्षारोपणले समाजलाई विकास र सम्मृद्धि तर्फउन्मुख गर्नेहुनाले त्रिवेणीधाम हरियाली भयो भने हामी सबैमा खुशीयाली छाउँछ  भन्नुभयो।  उहाँले  बोट, बिरुवा र हरियालीको प्रसन्नताले मनमा खुशी, ओठमा मिठो मुस्कान र हृदयमा प्रसन्नता छाउने भएकोले  वृक्षारोपण कार्यक्रम अति आवश्यक छ, भन्ने विचार व्यक्त गर्नुभयो । आफ्ना पितृको सम्झनामा, आफ्नो जन्मदिनको साथै अन्य विशेष खुशीयालीमा एउटा बिरुवा रोपेएर आफ्नो अमूल्य योगदान गरिदिनु हुन समेत अनुरोध गर्नुभयो ।

कार्यक्रमको परिचय र उद्देश्यहरुको जानकारी दिदै गुरुकुलका प्रधानाध्यापक नवीन मैनालीले हामीले प्रतिपल लिने श्वासको प्रमुख श्रोत नै रुख, बोटबिरुवा रहेकोले मानिस र रुखको अन्योन्याश्रित सम्बन्ध रहेको छ । दुवै एक अर्कामा अभिन्न रुपमा आश्रित छन् । रुखले गर्दा मानिस र मानिसले गर्दा रुखहरुको अस्तित्व रहँदै आएको छ । हामीले प्रकृतिको रक्षा र उत्थान गर्यौं भने मात्रै मानव अस्तित्व रहने छ । विश्व दिन प्रतिदिन विनाशतर्फ  लाग्दै छ, कलकारखाना दिनहु बढिरहेका छन् । ओजन तह पातलिदै छ, हामीले लिएका अक्सिजनमा कति धेरै नकरात्मकताले भरिएको, कति बिरामी स्वच्छ हावापानीले आफ्नो आयु छोट्याउदै छन् । यी सबैको रोगका रोकथामका लागि वृक्षारोपण अत्यावश्यक र अनिवार्य रहेको छ, भन्नुहुँदै वृक्षारोपणको महिमा व्यक्त गर्नुभयो । । प्रधानाध्यापक नवीन मैनालीले वृक्षको महिमा मत्स्य पुराणमा यसरी उल्लेख गरेको छ भन्नुभयो।
दश कूप समा वापी, दशवापि समो ह्रदः ।
दशह्रद समः पुत्रो, दशपुत्रो समो द्रुमः । (मत्स्य पुराण)

अर्थात् १० कुवा बराबर एउटा इनार, १० इनार बराबर एउटा पोखरी, १० पोखरी बराबर एउटा पुत्र र १० पुत्र बराबर एउटा रुख हुन्छ । त्यसैले रुखलाई पुत्रभन्दा पनि माथिको रुपमा राखेर मत्स्य पुराण आदिमा चर्चा गरिएको पाउँछौँ । वृक्षको रोपण र यसको संरक्षणले नै मानव जीवनयापनमा सहजता प्रदान गर्दछ, भन्नुभयो ।

त्रिवेणीधाममा सञ्चालित गुरुकुलको स्तरोन्नतिका लागि सबै सेवाको भावना भएका व्यक्तिहरुले विद्यार्थी  बटुकहरुका लागि आवश्यक लत्ताकपडा, खाद्यन्नका सामाग्रीहरु, नगद, जिन्सी सामाग्रीहरु गुरुकुलमा सहयोग गर्न सक्नुहुनेछ, भन्ने पनि त्यसवसरमा जानकारी गराइएको थियो।

वृक्षा रोपणको औपचारिक कार्यक्रम सकिएता पनि आउँदा दिनमा पनि सबैले आफूले सकेको वृक्ष रोपण गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: